ललितपुर- ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ७ चाङ्गाथलीका बासिन्दाले लामो समयदेखि प्रतिक्षा गरेको साझा यातायात सेवा आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।
अब चाङ्गाथलीबाट टिकाथली, इमाडोल, ग्वार्को, सातदोबाटो, लगनखेल, जावलाखेल हुँदै सिधै रत्नपार्कसम्म साझा यातायातको नियमित सेवा उपलब्ध हुने भएको छ।
सेवा सञ्चालनसँगै चाङ्गाथली क्षेत्रका स्थानीयवासीमा उत्साह र खुसी छाएको छ। वर्षौंदेखि सहज, भरपर्दो र सुरक्षित सार्वजनिक यातायातको माग गर्दै आएका स्थानीयले अब राजधानीको केन्द्रसम्म सिधा यात्रा गर्न पाउने भएपछि यसलाई ऐतिहासिक उपलब्धिको रूपमा लिएका छन्।
वडा नं. ७ का अध्यक्ष बाबुराजा महर्जन ले हिमालय पोस्टसँग कुरा गर्दै साझा यातायात सेवा सञ्चालन हुनु चाङ्गाथलीवासीका लागि अत्यन्तै खुसीको विषय भएको बताए। उनले स्थानीयको लामो समयदेखिको मागलाई सम्बोधन गर्न निरन्तर पहल र समन्वय गरिएको उल्लेख गर्दै अब यस सेवाले विद्यार्थी, कर्मचारी, व्यवसायी तथा सर्वसाधारण सबैलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे।
सेवा शुभारम्भ कार्यक्रममा स्थानीय बासिन्दा, जनप्रतिनिधि, सामाजिक अगुवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो। उपस्थित स्थानीयहरूले साझा यातायात सञ्चालनसँगै दैनिक आवतजावत सहज, सुरक्षित र व्यवस्थित हुने विश्वास व्यक्त गर्दै खुसी साटासाट गरेका थिए।
यसअघि चाङ्गाथली क्षेत्रबाट रत्नपार्क पुग्न यात्रुले पटक–पटक सवारी परिवर्तन गर्नुपर्ने बाध्यता थियो। नयाँ सेवा सञ्चालनमा आएपछि समय, खर्च र झन्झट तीनै पक्षमा कमी आउने अपेक्षा गरिएको छ।
स्थानीयवासीले यस सेवालाई निरन्तर, नियमित र गुणस्तरीय रूपमा सञ्चालन गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्। चाङ्गाथलीजस्तो तीव्र रूपमा विकास भइरहेको क्षेत्रमा साझा यातायातको प्रवेशले सार्वजनिक यातायात व्यवस्थापनमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।






























































