काठमाडौं –कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले बिहीबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
नतिजा प्रकाशन तथा मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको, पुनर्मूल्यांकन र रिटोटलिङको प्रभावकारी व्यवस्था नगरिएको भन्दै विद्यार्थीहरू सडकमा उत्रिएका हुन्। प्रदर्शनको नेतृत्व रञ्जित काकी, साहिल रिजाल, दिवस श्रेष्ठ, स्मृति खतिवडा, अंशु पन्त र साहेब साहलगायतका विद्यार्थीहरूले गरेका थिए।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले “१२ वर्षको मेहनत खेर गयो, जिम्मेवार को ?”, “हाम्रो भविष्य बर्बाद भयो, हामी न्याय खोज्न कहाँ जाऔँ ?” लगायतका नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए।
विद्यार्थीहरूको भनाइमा नतिजा सार्वजनिक गर्ने क्रममा त्रुटि भएको र त्यसको प्रत्यक्ष असर आफूहरूमा परेको छ। उनीहरूले निष्पक्ष छानबिन, निःशुल्क रिटोटलिङ, उत्तरपुस्तिकाको पुनर्परीक्षण तथा मूल्याङ्कन प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्न माग गरेका छन्।
प्रदर्शनकारी विद्यार्थीहरूले कक्षा १२ को नतिजासम्बन्धी विवाद केवल अंकको विषय नभई हजारौँ विद्यार्थीको भविष्यसँग जोडिएको बताएका छन्। मागहरूको सुनुवाइ नभएसम्म थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी समेत दिएका छन्।
यता शिक्षा मन्त्रालयले भने कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि नभएको स्पष्ट पारिसकेको छ। मन्त्रालयको भनाइ र विद्यार्थीहरूको असन्तुष्टिबीच नतिजा विवाद थप चर्किने संकेत देखिएको छ।



























































