काठमाडौं – आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व सीएसआर कार्यक्रमअन्तर्गत समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।
शिक्षा क्षेत्रको विकास तथा सामाजिक रूपान्तरणमा योगदान पुर्याउने उद्देश्यसहित उक्त सहयोग रकम प्रदान गरिएको कम्पनीले जनाएको छ।
आईएमई लाइफ इन्स्योरेन्सले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता तथा सामाजिक उत्थानका विभिन्न क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ। सोही प्रतिबद्धताको निरन्तरतास्वरूप प्रदान गरिएको सहयोग रकम कैलाली, दोलखा र सिन्धुली जिल्लामा सञ्चालित समता एजुकेशन फाउन्डेसनअन्तर्गतका विद्यालयहरूको शैक्षिक गतिविधि सुदृढीकरण तथा गुणस्तरीय शिक्षा प्रवर्द्धनमा खर्च गरिने जनाइएको छ।
समता एजुकेशन फाउन्डेसनले लामो समयदेखि आर्थिक रूपमा विपन्न बालबालिकालाई न्यून शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै आएको छ। आईएमई लाइफ इन्स्योरेन्सको सहयोगले फाउन्डेसनका शैक्षिक कार्यक्रमलाई थप प्रभावकारी बनाउन तथा अझ बढी विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
‘इन्स्योरिङ फ्युचर’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै आईएमई लाइफ इन्स्योरेन्सले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा सामुदायिक विकासका क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
कम्पनीले आगामी दिनमा पनि समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।



























































