काठमाडौं – बागमती प्रदेश सरकारका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले नागरिकको सहज स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नु प्रदेश सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन्।
कृष्ण गोपाल फाउन्डेसनद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले आर्थिक अवस्था कमजोर भएका नागरिकसम्म गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन यस्ता शिविर प्रभावकारी हुने बताएका हुन्।
उनले सरकार, सामाजिक संस्था र निजी क्षेत्रबीचको सहकार्यबाट स्वास्थ्य सेवा अझ प्रभावकारी बनाउन सकिने उल्लेख गर्दै ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकसम्म विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।
मुख्यमन्त्री बानियाँले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा सामाजिक संस्थाहरूले खेलेको भूमिकाको प्रशंसा गर्दै यस्ता सेवामूलक अभियानलाई निरन्तरता दिन आग्रह गरे। साथै, सबै नागरिकलाई नियमित स्वास्थ्य परीक्षण गर्न र स्वस्थ जीवनशैली अपनाउन पनि उनले अनुरोध गरेका छन् ।
कार्यक्रममा विभिन्न विशेषज्ञ चिकित्सकमार्फत निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि वितरण गरिएको छ। स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको उक्त शिविरमा मुख्यमन्त्री बानियाँले आयोजक संस्था र स्वास्थ्यकर्मीहरूको योगदानको प्रशंसा समेत गरेका छन्।



























































