काठमाडौं- नेकपाका वरिष्ठ नेता झलनाथ खनालले आफू नयाँ पार्टी खोल्न लागेको भन्ने प्रचारको खण्डन गरेका छन्।


ADVERTISEMENT


सोमबार काठमाडौंमा आयोजित आफूद्वारा लिखित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय जनवाद’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै  नयाँ पार्टी गठन गर्ने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। विचार समूह निर्माणलाई पार्टी विभाजनका रूपमा व्याख्या गर्नु गलत भएको उल्लेख गर्दै उनले यसलाई कम्युनिस्ट आन्दोलनलाई वैचारिक रूपमा सुदृढ र एकीकृत बनाउने अभियानका रूपमा बुझ्न आग्रह गरेका छन्।


ADVERTISEMENT

# # #


खनालले आफूले कुनै गुट निर्माण नगरेको बताउँदै विचार, नीति र सिद्धान्तमा खुला बहस आवश्यक रहेको धारणा राखेका छन्। कम्युनिस्ट आन्दोलनलाई अझ सशक्त बनाउन वैचारिक स्पष्टता र एकता अपरिहार्य रहेको उनको भनाइ छ। साथै, एकीकृत र सुदृढ कम्युनिस्ट आन्दोलनबिना समाजवादी रूपान्तरणको लक्ष्य हासिल गर्न कठिन हुने उनले बताएका छन्।

यस्तै, कार्यक्रममा नेता भीम रावलले राष्ट्रिय हितका विषयमा जनताको आवाज संसद्, सडक र सार्वजनिक मञ्चबाट सशक्त रूपमा उठाउनुपर्ने बताएका छन्। उनले राष्ट्रिय स्वाभिमान, वैचारिक स्पष्टता र जनमुखी समाजवादलाई बलियो बनाउनुपर्ने आवश्यकता औल्याएका छन्।