काठमाडौं- भोटाहिटीस्थित साइबर ब्युरो अगाडि नागरिक अभियन्ता आरव तिमिल्सिनाले अनलाइन माध्यमबाट हुने ठगी नियन्त्रणका लागि कडा साइबर कानुन निर्माण र तथ्यमा आधारित अनुसन्धान गर्नुपर्ने माग गर्दै प्लेकार्ड प्रदर्शन गरेका छन्।
पछिल्लो समय सामाजिक सञ्जालमा शंकास्पद अनलाइन आम्दानी तथा लगानीसम्बन्धी सामग्री आक्रामक रूपमा फैलिँदै गएको र यसबाट सर्वसाधारण ठगीको जोखिममा पर्न सक्ने भन्दै उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।
‘आज म एक्लै उभिएको छु, ताकि भोलि अर्को नेपाली एक्लै रुन नपरोस्’ लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका तिमिल्सिनाले आफ्नो उद्देश्य कुनै व्यक्ति वा संस्थालाई प्रमाणबिना दोषी ठहर गर्नु नभई सम्भावित जोखिमबारे जनचेतना फैलाउनु, तथ्यमा आधारित अनुसन्धानको माग गर्नु र नागरिक सुरक्षाको पक्षमा आवाज उठाउनु रहेको बताए।
उनले अनलाइन ठगी नियन्त्रण गर्न साइबर कानुनलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै नागरिक स्वयं पनि अनलाइन लगानी वा आम्दानीका आकर्षक प्रलोभनप्रति सचेत रहनुपर्ने बताएका छन्।



























































