काठमाडौं –  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेल ले यात्रु अभावका कारण पहाडी क्षेत्रका अधिकांश विमानस्थलमा नियमित उडान सञ्चालन गर्न कठिनाइ भइरहेको बताएका छन्।


ADVERTISEMENT


बुधबार राष्ट्रियसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले पहाडी क्षेत्रका अधिकांश विमानस्थलबाट प्राप्त प्रतिवेदनअनुसार नियमित उडान हुन नसक्नुको मुख्य कारण पर्याप्त यात्रु नहुनु रहेको स्पष्ट पारेका छन्।


ADVERTISEMENT

# # #


उनका अनुसार देशभर रहेका ५५ वटा विमानस्थलमध्ये ३४ वटा सञ्चालनयोग्य अवस्थामा रहेका छन् भने २१ वटा विमानस्थल हाल पनि बन्द अवस्थामा छन्।

मन्त्री पौडेलले सुनथराली विमानस्थल सहित पहाडी क्षेत्रका अन्य विमानस्थलमा नियमित उडान सुनिश्चित हुने अवस्था सिर्जना भए आवश्यक प्राविधिक जनशक्ति, सञ्चार उपकरण तथा अन्य प्राविधिक पूर्वाधारको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

उनले नागरिक उड्डयन प्राधिकरणसँग आवश्यक प्राविधिक जनशक्ति र उपकरणको अभाव नरहेको स्पष्ट पार्दै, हाल उडान सञ्चालन नभएका विमानस्थलमा जनशक्ति निष्क्रिय राख्नुभन्दा उडान भइरहेका अन्य विमानस्थलमा परिचालन गरिएको जानकारी दिएका छन्। साथै, यात्रु चाप बढ्दै गएसँगै आवश्यकता अनुसार सम्बन्धित विमानस्थलमा पुनः जनशक्ति र प्राविधिक व्यवस्था मिलाइने बताएका छन्।