काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल ले मुस्ताङमा युरेनियम उत्खननका लागि कुनै पनि विदेशी पक्षसँग सम्झौता नभएको स्पष्ट पारेका छन्।


ADVERTISEMENT


बुधबार राष्ट्रियसभाको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री खनालले मुस्ताङ जिल्लामा युरेनियम उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने चर्चा तथा हल्लामा कुनै सत्यता नरहेको बताएका छन्।


ADVERTISEMENT

# # #


मन्त्री शिशिर खनालले प्राकृतिक स्रोत र त्यसको उपयोगसम्बन्धी विषय नेपालको संविधानअनुसार सञ्चालन हुने र सरकारले संवैधानिक व्यवस्थाप्रति पूर्ण प्रतिबद्धता जनाएको स्पष्ट पारे।

मन्त्री खनालले नेपालले आफ्नो असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तविपरीत हुने कुनै पनि प्रकारको सम्झौता नगर्ने सरकारको स्पष्ट नीति रहेको पनि बताएका छन्।

नेपाल–भारत सीमा समस्याबारे बोल्दै उनले ऐतिहासिक सन्धि, सम्झौता र नक्साका आधारमा कूटनीतिक वार्तामार्फत समाधान खोज्न नेपाल सरकार निरन्तर प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

मन्त्री खनालले वर्तमान सरकारले राष्ट्रिय हित, सार्वभौमिकता र मुलुकको अन्तर्राष्ट्रिय छविको प्रवर्द्धनलाई प्राथमिकतामा राखेर परराष्ट्र नीति सञ्चालन गरिरहेको जानकारी दिए। साथै, परराष्ट्र सम्बन्ध संवेदनशील विषय भएकाले यसमा सबै पक्षले जिम्मेवारीपूर्वक अभिव्यक्ति दिन र राष्ट्रिय हितलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन्।