काठमाडौं – सिटिजन्स बैक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत मधेश प्रदेशको बारा जिल्लास्थित विश्रामपुर गाउँपालिकामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरेको छ।
स्वस्थ दृष्टि र उज्यालो भविष्यको लक्ष्यसहित आयोजित शिविरमा करिब ८ सय स्थानीय नागरिकले निःशुल्क आँखा परीक्षण सेवा लिएका छन्। परीक्षणका क्रममा करिब १५० जना मोतियाबिन्दुका बिरामी पहिचान गरिएकामध्ये आवश्यक व्यक्तिको निःशुल्क शल्यक्रियाको व्यवस्था पनि गरिएको बैंकले जनाएको छ।
असार १२ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको उक्त शिविर बरेनिया, छतवा, मुसहरवा, बलिरामपुर तथा नक्टुवा लगायतका स्थानमा आयोजना गरिएको थियो। शिविरमार्फत स्थानीय बासिन्दालाई समयमै आँखा परीक्षण गराई दृष्टिसम्बन्धी समस्याको पहिचान तथा उपचारमा सहज पहुँच उपलब्ध गराउने उद्देश्य राखिएको बैंकले जनाएको छ।
बैंकका अनुसार यस कार्यक्रमले समुदायको स्वास्थ्य सुधार, अन्धोपन न्यूनीकरण तथा नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ। आगामी दिनमा पनि सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिइने बैंकले जनाएको छ।
सिटिजन्स बैंकले हालै युवा लक्षित बचत खाता, एकीकृत डिजिटल बैंकिङ सेवा तथा फ्रिलान्सर लक्षित विशेष बचत खातालगायत विभिन्न नवीन सेवाहरू सञ्चालनमा ल्याएको छ। बैंकले देशभरका ६१ जिल्लामा रहेका २०० शाखा, १६८ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाखभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।



























































