काठमाडौं- वामदेव गौतमले देशमा राजनीतिक स्थायित्व कायम गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली आवश्यक रहेको बताएका छन्।
पूर्व सांसद मञ्चले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले २०७२ सालदेखि हालसम्म कुनै पनि प्रधानमन्त्रीले आफ्नो पाँच वर्षे कार्यकाल पूरा गर्न नसकेको उल्लेख गर्दै वर्तमान शासन प्रणाली प्रभावकारी हुन नसकेको दाबी गरेका छन्।
गौतमले राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली उपयुक्त हुने धारणा राखेका छन्। साथै, खर्चिलो निर्वाचन प्रणालीलाई सुधार गर्न पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने आवश्यकता पनि औँल्याएका छन्।
उनले नेपालको सन्दर्भमा संघीयता आवश्यक नभएको आफ्नो धारणा दोहोर्याउँदै, संघीयता कायम नै गर्ने हो भने केन्द्रमुखी व्यवस्थाअन्तर्गतको संघीयताको मोडल अपनाउनुपर्ने तर्क गरेका छन्।
कार्यक्रममा गौतमले पूर्वसांसदहरूको अनुभव र योगदानको सम्मान गर्दै उनीहरूलाई राज्यले उपयुक्त जिम्मेवारी दिनुपर्ने सुझाव पनि दिएका छन्।



























































