विराटनगर-  नेपालमा नर्सिङ शिक्षाको गुणस्तरलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने उद्देश्यका साथ विराट मेडिकल कलेज टिचिङ हस्पिटलले देशमै पहिलोपटक अत्याधुनिक पूर्वाधारयुक्त ‘स्कुल अफ नर्सिङ’ सञ्चालनमा ल्याएको छ।


ADVERTISEMENT


हस्पिटलको पाँचौँ तलामा करिब १९ हजार वर्गफिट क्षेत्रफलमा निर्माण गरिएको समर्पित ‘स्कुल अफ नर्सिङ’को उद्घाटन संस्थापक अध्यक्ष प्रा. डा. ज्ञानेन्द्रमान सिंह कार्की र संस्थापक उपाध्यक्ष डा. इरिना कार्कीले संयुक्त रूपमा गरेका हुन्।


ADVERTISEMENT

# # #


कलेजका अनुसार नेपालमै पहिलोपटक बीएससी नर्सिङ तथा अन्य नर्सिङ कार्यक्रमका लागि समर्पित अत्याधुनिक शैक्षिक पूर्वाधार तयार गरिएको हो। यसअघि नर्सिङ कक्षा सञ्चालन हुँदै आए पनि अब आधुनिक भौतिक पूर्वाधार र अन्तर्राष्ट्रिय मापदण्डअनुसारको सुविधासहित नयाँ स्वरूपमा सञ्चालनमा ल्याइएको कलेजले जनाएको छ।

स्कुल अफ नर्सिङमा फन्डामेन्टल नर्सिङ, मिडवाइफ्री, बाल स्वास्थ्य, सामुदायिक स्वास्थ्य, पोषण तथा आहारसम्बन्धी सीप प्रयोगशालासहित अत्याधुनिक कक्षाकोठा र प्रशिक्षण केन्द्र स्थापना गरिएको छ।

विद्यार्थीलाई वास्तविक अस्पतालको वातावरणमा आधारित अभ्यास गराउन अपरेशन थिएटर ओटी, नवजात शिशु सघन उपचार कक्ष एनआईसीयू, प्रसूति कक्ष, सघन उपचार कक्ष आईसीयू लगायतका संरचनाको सिमुलेसन–आधारित शिक्षण प्रणाली विकास गरिएको कलेजले जनाएको छ। यसबाट विद्यार्थीले वास्तविक बिरामीको उपचारमा संलग्न हुनुअघि आवश्यक सीप र आत्मविश्वास हासिल गर्न सक्ने विश्वास लिइएको छ।

कलेजका अनुसार क्लिनिकल स्किल्स प्रशिक्षण, सिमुलेसन–आधारित अभ्यास, क्रिटिकल केयर, सामुदायिक स्वास्थ्य सेवा तथा डिजिटल लर्निङ स्रोतको प्रयोगले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक दक्षता हासिल गर्न सहयोग पुग्नेछ।

कलेजले नयाँ प्रणालीमार्फत दक्ष, सक्षम र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि तयार नर्सिङ जनशक्ति उत्पादन हुने विश्वास व्यक्त गरेको छ। आगामी दिनमा ‘स्कुल अफ नर्सिङ’लाई अझ प्रविधिमैत्री, अनुसन्धानमुखी र अन्तर्राष्ट्रिय स्तरको शिक्षण केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता पनि कलेजले जनाएको छ।