काठमाडौं – भाद्र १० गते बाढी सिर्जना भएको क्षेत्रमा नदी थुनिएर बनेको ताल भरिएपछि पानी बग्न थालेको छ। यससँगै त्रिशूली नदीको तटीय क्षेत्रमा बाढीको जोखिम बढेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
परराष्ट्र मन्त्रालयबाट प्राप्त सूचनाका आधारमा बाढी पूर्वानुमान महाशाखाले त्रिशूली नदीको तटीय क्षेत्र मुग्लिनसम्मका बासिन्दालाई अर्को सूचना जारी नभएसम्म सुरक्षित स्थानमा रहन अनुरोध गरेको हो। नदी थुनिएर बनेको ताल भरिएपछि पानीको बहाव तलतर्फ बढ्न सक्ने भएकाले त्रिशूली नदी आसपासका क्षेत्रमा जोखिम बढेको महाशाखाले जनाएको छ।
सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै नदी किनार तथा तल्लो तटीय क्षेत्रमा रहेका नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ। महाशाखाले नदीको बहाव नजिक नजान तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गर्ने सूचनालाई ध्यान दिनसमेत अनुरोध गरेको छ।































































