काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतर समूहले वर्तमान परिस्थितिमा पार्टीको एकताको महाधिवेशन हुने सम्भावना निकै क्षीण बन्दै गएको निष्कर्ष निकालेको छ।
शुक्रबार काठमाडौंस्थित पूर्णबहादुर खड्काको निवासमा बसेको संस्थापन इतर समूहका नेताहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता मीन विश्वकर्माले संस्थापन पक्ष निरन्तर एकलौटी ढंगले अघि बढ्न खोजेकाले अहिलेको अवस्थामा एकताको महाधिवेशनको सम्भावना कमजोर बनेको बताएका छन्।
यद्यपि कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले असहमतिबीच पनि सहमतिको प्रयासलाई निरन्तरता दिने बैठकको निष्कर्ष रहेको उनले बताए। उनले केही समय लागे पनि सहमतिका लागि अधिकतम पहल गरिने स्पष्ट पारेका छन्।
विश्वकर्माका अनुसार आगामी असार २२ गतेदेखि १५औँ महाधिवेशनको तयारी, संगठन विस्तार तथा सम्पर्क अभियानका गतिविधि पार्टीको सम्पर्क कार्यालयबाट सञ्चालन गर्ने निर्णय गरिएको छ।
बैठकले पार्टीभित्र भावनात्मक, सांगठनिक, वैचारिक र व्यवहारिक रूपमा पूर्ण एकता आवश्यक रहेको निष्कर्ष निकाल्दै संवाद र सहमतिका माध्यमबाट असहमति समाधान गर्दै अघि बढ्न पार्टी नेतृत्वलाई सुझाव दिएको छ।
नेता विश्वकर्माले देशमा विधिको शासनमाथि चुनौती, नागरिक अधिकारमा संकुचन, राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि देखिएका चुनौती तथा राजनीतिक अस्थिरताको सामना गर्न नेपाली कांग्रेसभित्र बलियो एकता र सक्षम नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।
उनले पार्टीभित्रका आन्तरिक विवादको अन्त्य तथा गत निर्वाचनको समीक्षा गर्न सातै प्रदेशमा सम्पन्न भेलाबाट प्राप्त सुझावका आधारमा छिट्टै राष्ट्रिय भेला आयोजना गरिने जानकारी दिएका छन्। आगामी असार २२ गते बस्ने बैठकले राष्ट्रिय भेलाको मिति तय गर्ने सम्भावना रहेको पनि उनले बताएका छन्।



























































