काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण एनआईसी एशिया बैंकका तीन शाखा कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएका छन्।
बाढीले रसुवाको स्याफ्रुबेँसी शाखा र नुवाकोटको बेत्रावती शाखा रहेको भवन नै बगाएको बैंकले जनाएको छ। यस्तै, त्रिशूली शाखा कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भई माटोले पुरिएको अवस्थामा रहेको छ।
शाखा कार्यालयहरूमा ठूलो क्षति पुगेपछि अर्को व्यवस्था नभएसम्मका लागि तीनवटै शाखा बन्द रहने बैंकले जानकारी दिएको छ। बाढी प्रभावित क्षेत्रमा कार्यरत सबै कर्मचारी सुरक्षित स्थानमा रहेको बैंकले जनाएको छ। आवश्यक परेको अवस्थामा कर्मचारी तथा उनीहरूका परिवारका सदस्यलाई समेत हेलिकप्टरमार्फत सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी गरिएको बैंकले जनाएको छ।
अकल्पनीय बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बैंकले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। यस्तै, सम्पर्कविहीन नागरिकको सकुशल उद्धार तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बैंकले विपद्को यस कठिन समयमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाएको छ।































































