काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदभार ग्रहण गरेपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकबाट घोषणा गरिएको शैक्षिक छात्रवृत्ति कार्यक्रम कार्यान्वयनमा आएको छ। प्रदेशका आर्थिक रूपमा विपन्न तथा सीमान्तकृत समुदायका विद्यार्थीलाई प्राविधिक तथा व्यावसायिक उच्च शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले सुरु गरिएको कार्यक्रमअन्तर्गत पहिलो चरणमा ७ जना विद्यार्थी छात्रवृत्तिका लागि छनोट भएका छन्।


ADVERTISEMENT


सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा विकास निर्देशनालयका अनुसार ‘शैक्षिक छात्रवृत्ति निर्देशिका–२०८३’ बमोजिम सञ्चालन गरिएको कार्यक्रममा एमबीबीएस, बीएएमएस, बीएससी भेटेरिनरी, बीएससी कृषि, सिभिल इन्जिनियरिङ, बीई आईटी र तीनवर्षे स्टाफ नर्सिङ गरी सात अध्ययन कार्यक्रमका लागि कुल २२ वटा छात्रवृत्ति व्यवस्था गरिएको छ।


ADVERTISEMENT

# # #


निर्देशनालयका अनुसार हालसम्म एमबीबीएस, सिभिल इन्जिनियरिङ, बीएससी भेटेरिनरी र बीएससी कृषि कार्यक्रममा मात्र आवेदन परेको छ। प्राप्त आवेदनलाई प्रवेश परीक्षा, योग्यता र निर्देशिकामा उल्लेखित मापदण्डका आधारमा मूल्याङ्कन गरी ७ जना विद्यार्थी छनोट गरिएको हो।

 

छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीहरूमा एमबीबीएसका लागि श्रीराम भट्ट बेलकोटगढी–१०, नुवाकोट – मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा
सिभिल इन्जिनियरिङका लागि मातृका चेपाङ कालिका–१०, चितवन – नेपाल पोलिटेक्निक इन्स्टिच्युट, चितवन
सिभिल इन्जिनियरिङका लागि अर्शिम श्रेष्ठ नामोबुद्ध–९, काभ्रेपलाञ्चोक –  इन्जिनियरिङ कलेज, भक्तपुर
बीएससी भेटेरिनरीका लागि ललिता तामाङ शिवपुरी गाउपालिका–४, नुवाकोट– हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी, कीर्तिपुर
बीएससी भेटेरिनरीका लागि विशाल तामाङ रोशी–८, काभ्रेपलाञ्चोक – हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी, कीर्तिपुर
बीएससी कृषिका लागि उत्सव प्रधान थाहा–१, मकवानपुर – हेटौडा जनप्रीय क्याम्पस, मकवानपुर
बीएससी कृषिका लागि निरुता योगी तामाकोशी–४, दोलखा – स्कुल अफ एग्रिकल्चरल साइन्स, टिकापुर, कैलालीका रहेका छन् ।
निर्देशनालयका अनुसार बीएएमएस, बीई आईटी र तीनवर्षे स्टाफ नर्सिङ कार्यक्रमका लागि हालसम्म आवेदन प्राप्त नभएकाले ती विषयमा छनोट हुन सकेको छैन।

छात्रवृत्ति रकम विद्यार्थीलाई नगद नदिई सम्बन्धित विश्वविद्यालय वा क्याम्पसले निर्धारण गरेको शुल्कअनुसार शैक्षिक संस्थाको बैंक खातामा तीन किस्तामा भुक्तानी गरिने व्यवस्था गरिएको छ। साथै छात्रवृत्ति प्राप्त विद्यार्थीले अध्ययन पूरा गरेपछि कम्तीमा एक वर्ष बागमती प्रदेशभित्र सम्बन्धित क्षेत्रमा सार्वजनिक सेवा गर्नुपर्ने व्यवस्था पनि निर्देशिकामा समावेश गरिएको छ।

मुख्यमन्त्री  बानियाँले आर्थिक अवस्था कमजोर भएकै कारण प्रतिभावान विद्यार्थी उच्च प्राविधिक शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको बताएका छन्। प्रदेश सरकारले चिकित्सा, कृषि, इन्जिनियरिङ, सूचना प्रविधि र नर्सिङजस्ता क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्दै शिक्षामा समान पहुँच र सामाजिक न्यायलाई संस्थागत गर्ने लक्ष्यका साथ कार्यक्रम अघि बढाएको  छ।

यो छात्रवृत्ति कार्यक्रमलाई बागमती प्रदेश सरकारले दीर्घकालीन मानव पूँजी विकास तथा प्रदेशमै दक्ष जनशक्ति उत्पादन गर्ने महत्वाकांक्षी योजनाका रूपमा अघि बढाएको छ।