काठमाडौं – कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यासलाई प्रवर्द्धन गर्ने उद्देश्यले जर्मन वित्तीय संस्था डोइचे स्पार्कासेनस्टिफ्टुङ फर इन्टरनेशनल कोअपरेसन (DSIK) सँग रणनीतिक साझेदारी गरेको छ।
जर्मनीको सङ्घीय आर्थिक सहयोग तथा विकास मन्त्रालयको सहयोगमा सञ्चालित क्षेत्रीय कार्यक्रमअन्तर्गत भएको यस साझेदारीले एसियाका छनोट गरिएका देशहरूमा वित्तीय क्षेत्रको सामाजिक तथा वातावरणीय रूपान्तरणलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको बैंकले जनाएको छ।
सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र डीएसआईकेका एसिया डिभिजन प्रमुख डा. इलोन्का रुल स्टर्नले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार दिगो बैंकिङ अभ्यासलाई संस्थागत तथा विस्तार गर्न दुई चरणमा कार्यक्रम सञ्चालन गरिनेछ। डीएसआईकेले ईएसजी जोखिम मूल्याङ्कन, दिगो वित्तसम्बन्धी प्राविधिक उपकरण तथा अन्तर्राष्ट्रिय अनुभव उपलब्ध गराउँदै बैंकलाई प्राविधिक सहयोग गर्नेछ।
कुमारी बैंकका दिगो बैंकिङ विभाग प्रमुख अर्पण पौडेलले यस सहकार्यले बैंकको दिगो बैंकिङ यात्रामा महत्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे। उनका अनुसार सहकार्यले हरित वित्त, न्यून कार्बन उत्सर्जन र दिगो उद्यमशीलताको विकासमा समेत योगदान पुर्याउनेछ।
सम्झौताअन्तर्गत ग्रामीण क्षेत्र तथा साना–मझौला उद्यमको क्षमता अभिवृद्धिका लागि विभिन्न तालिम तथा DISK Business Game कार्यक्रमसमेत सञ्चालन गरिनेछ।
कुमारी बैंकले हाल देशभर २८६ शाखा, ३०३ एटीएम, ४० एक्सटेन्सन काउन्टर, ४१ शाखारहित बैंकिङ इकाइ र १,१०० भन्दा बढी पीओएस टर्मिनलमार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकले यो साझेदारीले नेपालमा दिगो वित्तीय विकास र हरित बैंकिङ प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।



























































