काठमाडौं – आगामी २०औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडी तथा टोलीलाई बिदाइ गरिएको छ।
सिंहदरबारमा बिहीबार आयोजित कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एसियाली खेलकुदमा सहभागी हुने नेपाली खेलाडी तथा टोलीलाई बिदाइ गरेका हुन्।
बिदाइ कार्यक्रममा मन्त्री पोखरेलले खेलाडीहरूले गरेको कडा परिश्रम, त्याग र आत्मअनुशासनको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्न पाउनु आफैंमा ठूलो गौरवको विषय भएको बताए।
उनले पदक जित्नु दोस्रो प्राथमिकता भए पनि बिना दबाब र निडर भएर खेल भावना तथा आत्मविश्वासका साथ उत्कृष्ट प्रदर्शन गर्न खेलाडीहरूलाई सुझाव दिए। अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडी तथा टोलीलाई पहिलोपटक विमानस्थलमै बिदाइ तथा स्वागतको व्यवस्था गरिएको पनि उनले जानकारी दिए।
मन्त्री पोखरेलले विगतमा राज्यको लगानी र खेल व्यवस्थापनमा देखिएका कमजोरीप्रति आत्मसमीक्षा गर्दै आगामी दिनमा खेलाडीलाई अझ उच्चस्तरीय सुविधा र सम्मान उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
एसियाली खेलकुदमा नेपालबाट विभिन्न २१ खेल विधामा ५७ महिला र ७८ पुरुष गरी कुल १३५ खेलाडी सहभागी हुनेछन्। यस्तै, २९ प्रशिक्षक, १७ व्यवस्थापक र २ खेल प्राविधिकसहित नेपाली टोलीमा कुल १८३ जना रहने जनाइएको छ।
































































