काठमाडौं-  गणेश नेपालीको आत्मदाह र मृत्यु प्रकरणलाई लिएर विभिन्न राजनीतिक तथा सामाजिक क्षेत्रका व्यक्तिहरूले सरकारको चर्को आलोचना गर्दै न्याय नपाए आन्दोलन चर्काउने चेतावनी दिएका छन्।


ADVERTISEMENT


शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा संघीय सांसद पवित्रा विकले वर्तमान सरकारको ‘गरिबमारा’ नीतिका कारण गणेश नेपाली आत्मदाह गर्न बाध्य भएको आरोप लगाइन्। उनले गणेश नेपालीको उपचारका विषयमा गृहमन्त्रीले दिएको अभिव्यक्ति सत्य नभएको दाबी गर्दै सरकारमाथि प्रश्न उठाइन्।


ADVERTISEMENT

# # #


सांसद विकले घटनाको निष्पक्ष छानबिन गर्न, दोषीमाथि कारबाही गर्न तथा पीडित परिवारलाई न्याय दिलाउन सरकारसँग माग गरिन्। उनले न्याय नपाए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिइन्।

सामाजिक अभियन्ता डा. निर्मल विश्वकर्माले अत्यधिक ट्राफिक जरिवाना र राज्यको नीतिगत व्यवहारले गणेश नेपालीलाई आत्मदाह गर्न बाध्य बनाएको दाबी गरे। उनले जनमैत्री नीति लागू गर्न सरकारसँग आग्रह गरेका छन्।

दलित अधिकारकर्मी केशव नेपालीले सरकार गरिब तथा श्रमिक वर्गप्रति संवेदनशील बन्नुपर्नेमा जोड दिँदै पीडित परिवारलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गरे।

जेनजी युनाइटेडका संयोजक जनक परियारले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा पीडित परिवारलाई क्षतिपूर्ति, राहत, शिक्षा र स्वास्थ्यको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन्।

कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि गणेश नेपालीको मृत्युबारे सत्यतथ्य सार्वजनिक गर्न, पीडित परिवारलाई न्याय दिलाउन र जनमुखी नीति अवलम्बन गर्न सरकारसँग आग्रह गरेका छन्।