काठमाडौं- मेटलाइफ नेपाल र त्रिभुवन विश्वविद्यालयअन्तर्गतको स्कूल अफ म्याथेम्याटिकल साइन्सले नेपालमा दक्ष एक्चुरियल जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित एक्चुरियल छात्रवृत्ति कार्यक्रम सुरु गरेका छन्।
कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष दुई जना उत्कृष्ट विद्यार्थीलाई स्नातक तहको चार वर्षे अध्ययन अवधिभर छात्रवृत्ति प्रदान गरिनेछ। छात्रवृत्तिका लागि विद्यार्थीको छनोट पारदर्शी मूल्याङ्कन प्रक्रियाबाट गरिनेछ भने छनोट भएका विद्यार्थीको प्रत्येक सेमेस्टरको शुल्क मेटलाइफ नेपालले व्यहोर्नेछ।
कार्यक्रममा सरकारी विद्यालयका विद्यार्थीसहित विभिन्न शैक्षिक पृष्ठभूमिका प्रतिभाशाली विद्यार्थीलाई समान अवसर प्रदान गरिने जनाइएको छ। आर्थिक सहयोगसँगै व्यावहारिक सिकाइ, इन्टर्नसिप तथा व्यावसायिक अनुभव हासिल गर्ने अवसरसमेत उपलब्ध गराइने भएकाले विद्यार्थीलाई बीमा तथा जोखिम व्यवस्थापन क्षेत्रमा दक्ष बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले यस सहकार्यमार्फत प्रतिभाशाली विद्यार्थीलाई सहयोग गर्नुका साथै नेपालको वित्तीय क्षेत्रमा आवश्यक एक्चुरियल विशेषज्ञ उत्पादनमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
त्रिभुवन विश्वविद्यालय, स्कूल अफ म्याथेम्याटिकल साइन्सका निर्देशक नवराज पौडेलले छात्रवृत्ति कार्यक्रमले गुणस्तरीय शिक्षा र उद्योगको आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यलाई थप मजबुत बनाउने बताएका छन्। उनले यस कार्यक्रमले योग्य विद्यार्थीलाई एक्चुरियल क्षेत्रमा करियर बनाउन प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।



























































