काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले संसद मन्त्रीले सांसद थर्काउने थलो नभएको बताएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद दुलालले संसद मन्त्रीले सांसद थर्काउने थलो नभई सांसदले सरकारलाई प्रश्न गर्ने र सरकारले जवाफ दिने ठाउँ भएको बताएका हुन्।
उनले सरकारको १०० दिन सकिएकाले अब प्रधानमन्त्री संसदमा आएर जनतालाई आश्वस्त पार्नुपर्नेमा जोड दिएका छन् ।
सरकारी तथ्याङ्क अनुसार नै महँगी गत वर्षको तुलनामा दोब्बर बढेको भन्दै उनले महँगीको प्रत्यक्ष मार गरिब र श्रमिक वर्गमा परेकाले सरकार भ्रमबाट मुक्त हुनुपर्ने बताएका छन् ।
गरिबीको पीडाबोध गर्दै महँगी, कालाबजारी र बिचौलिया तन्त्र नियन्त्रण गरी जनतालाई राहत दिन उनले माग गरेका छन् ।
उनले गृहमन्त्रीको सम्पत्ति छानबिन गरेपनि प्रतिवेदन सार्वजनिक नगरिएको भन्दै आपत्ति जनाएका छन् ।



























































