काठमाडौं- मिस सुप्रानेशनल नेपाल २०२६ की विजेता पूर्णिमा कार्की विश्वकै प्रतिष्ठित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस सुप्रानेशनल २०२६ मा नेपालको प्रतिनिधित्व गर्न पोल्याण्ड प्रस्थान गरेकी छन्।


ADVERTISEMENT


जुलाई १३ मा उनी पोल्याण्डको क्राकाउ पुगेकी हुन्। प्रतियोगिता मालोपोल्स्का क्षेत्रमा आयोजना हुँदैछ भने यसको ग्रान्ड फिनाले जुलाई ३१ मा सम्पन्न हुनेछ।


ADVERTISEMENT

# # #


कानुन विषयमा स्नातक पूर्णिमा कार्की सौन्दर्य प्रतियोगिताकी विजेता मात्र नभई शिक्षा, महिला सशक्तीकरण, सामाजिक उत्तरदायित्व, संस्कृति संरक्षण र पर्यटन प्रवर्द्धनमा सक्रिय युवा अभियन्ताका रूपमा परिचित छिन्। उनले मिस सुप्रानेशनल नेपालको उपाधि जितेसँगै विश्वमञ्चमा नेपालको कला, संस्कृति, पहिचान र नेपाली महिलाको क्षमता प्रस्तुत गर्ने महत्वपूर्ण जिम्मेवारी पाएकी हुन्।

प्रतियोगिताको अवधिभर पूर्णिमाले राष्ट्रिय पोशाक प्रदर्शन, सुप्रा च्याट, प्रारम्भिक मूल्याङ्कन, व्यक्तित्व परीक्षण, सामाजिक प्रभाव तथा विभिन्न प्रतिस्पर्धात्मक चरणहरूमा सहभागिता जनाउनेछिन्। उनले नेपालको सांस्कृतिक विविधता, प्राकृतिक सम्पदा, मौलिक पहिचान र नेपाली महिलाको आत्मविश्वासलाई अन्तर्राष्ट्रिय मञ्चमा उजागर गर्ने अपेक्षा गरिएको छ।

प्रस्थानअघि सञ्चारकर्मीसँग कुरा गर्दै पूर्णिमाले नेपालको झण्डा बोकेर विश्वमञ्चमा उभिन पाउनु आफ्नो जीवनकै सबैभन्दा ठूलो सम्मान भएको बताइन्। उनले यो यात्रा व्यक्तिगत सफलताभन्दा पनि सम्पूर्ण नेपालीको सपना र राष्ट्रिय गौरवसँग जोडिएको उल्लेख गर्दै आफ्नो सम्पूर्ण क्षमता र समर्पणका साथ नेपाललाई उत्कृष्ट रूपमा चिनाउने प्रतिबद्धता व्यक्त गरिन्।

यता, मिस सुप्रानेशनल नेपालका नेशनल डाइरेक्टर तथा सानुर्भी इन्टरनेशनल प्रालिका अध्यक्ष डा। सन्तोष उपाध्यायले यस वर्ष नेपालले मिस सुप्रानेशनलको इतिहासमै उत्कृष्ट नतिजा हासिल गर्ने विश्वास व्यक्त गरेका छन्। पूर्णिमामा नेतृत्व क्षमता, आत्मविश्वास, बौद्धिकता, सामाजिक उत्तरदायित्व र विश्वमञ्चमा प्रभावशाली प्रस्तुति दिन सक्ने सबै गुण रहेको उनको भनाइ छ।

डा.उपाध्याय स्वयं मिस्टर सुप्रानेशनल २०२१ मा नेपालको प्रतिनिधित्व गर्दै थर्ड रनर–अप बन्न सफल भएका थिए, जुन हालसम्म नेपालको अन्तर्राष्ट्रिय पेजेन्ट इतिहासकै महत्वपूर्ण उपलब्धिमध्ये एक हो। सोही अनुभवका आधारमा उनले पूर्णिमाको सम्पूर्ण तयारी, प्रशिक्षण र अन्तर्राष्ट्रिय अभियानको नेतृत्व गरिरहेका छन्।

विश्वका प्रतिष्ठित सौन्दर्य प्रतियोगितामध्ये एक मानिने मिस सुप्रानेशनल २०२६ मा विश्वभरका प्रतियोगीहरूले व्यक्तित्व, नेतृत्व क्षमता, सामाजिक प्रभाव, संस्कृति र आत्मविश्वासका आधारमा प्रतिस्पर्धा गर्नेछन्। यस वर्ष पूर्णिमा कार्कीले नेपालको प्रतिनिधित्व गर्दै देशको प्रतिष्ठा उचाल्ने र अन्तर्राष्ट्रिय मञ्चमा नयाँ इतिहास रच्ने अपेक्षा गरिएको छ।