काठमाडौं- नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले बहुप्रतीक्षित विद्युतीय एसयूभी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको छ। कम्पनीले आधिकारिक लन्चअघि नै ‘गेस एन्ड बुक द अल न्यू इ.मास ५ एट योर प्राइस’ विशेष योजना पनि सार्वजनिक गरेको हो।
यस योजनाअन्तर्गत ग्राहकहरूले प्रोटोन इ.मास ५ को सम्भावित बजार मूल्य अनुमान गरी सोही मूल्यमा गाडी खरिद गर्ने अवसर पाउनेछन्। कम्पनीले तय गर्ने आधिकारिक लन्च मूल्यसँग सबैभन्दा नजिक अनुमान गर्ने ग्राहकले आफूले अनुमान गरेकै मूल्यमा गाडी खरिद गर्न सक्नेछन्।
सहभागी हुन इच्छुक ग्राहकहरूले कम्पनीको वेबसाइटमा गई आफूले रोजेको भेरियन्ट छनोट गरी ‘प्राइस स्लाइडर’मार्फत अनुमानित मूल्य पठाउन सक्नेछन्। इ.मास ५ प्राइम भेरियन्टको मूल्य दायरा रु. २९ लाख ९९ हजारदेखि ३४ लाख ९९ हजार तथा प्रिमियम भेरियन्टको मूल्य दायरा रु. ३४ लाख ९९ हजारदेखि ३९ लाख ९९ हजार निर्धारण गरिएको छ।
कम्पनीका अनुसार योजनामा सहभागीमध्ये लक्की ड्रमार्फत प्रत्येक भेरियन्टबाट पाँच–पाँच जना भाग्यशाली ग्राहक छनोट गरिनेछ। उनीहरूले आफूले अनुमान गरेकै मूल्यमा प्रोटोन इ.मास ५ खरिद गर्न पाउनेछन्।
यसैबीच कम्पनीले रु. १ लाख बुकिङ रकम निर्धारण गर्दै गाडीको बुकिङ पनि खुला गरेको जनाएको छ। ग्राहकहरूले बैंक वा अनलाइनमार्फत भुक्तानी गरेर तथा आवश्यक विवरण बुझाएर बुकिङ प्रक्रिया पूरा गर्न सक्नेछन्।
प्रोटोन र जिलीको सहकार्यमा विकास गरिएको प्रोटोन इ.मास ५ ले हालै मलेसियाको ‘अलायन्स डीएसएफ भेहिकल अफ द इयर अवार्ड्स २०२६’ मा ‘इलेक्ट्रिक कम्प्याक्ट भेहिकल अफ द इयर २०२६’ उपाधि प्राप्त गरेको थियो। कम्पनीका अनुसार यो नेपालमा आफ्नो वर्गकै पहिलो रियर–ह्विल–ड्राइभ (आरडब्लुडी) विद्युतीय कम्प्याक्ट एसयूभी हुनेछ।
नेपालमा विद्युतीय सवारीसाधनको बजार तीव्र रूपमा विस्तार भइरहेका बेला ग्राहकलाई आकर्षक अवसर प्रदान गर्ने उद्देश्यले यो विशेष योजना ल्याइएको कम्पनीले जनाएको छ।



























































