काठमाडौं- नेपाल आयल निगमले एलपी ग्यास बिक्री–वितरण प्रणालीमा परिवर्तन गर्दै बुधबारदेखि पुनः १४.२ केजी क्षमताको भरी ग्यास सिलिन्डर बिक्री गर्ने निर्णय गरेको छ। यससँगै केही महिनादेखि लागू गरिएको ७.१ केजी आधा सिलिन्डर बिक्री व्यवस्था अन्त्य हुने भएको छ।
निगमले मंगलबार सार्वजनिक गरेको सूचनाअनुसार देशभरका ग्यास उद्योग, बिक्रेता तथा डिलरमार्फत बुधबारदेखि नै १४.२ केजी क्षमताको भरी सिलिन्डर उपलब्ध गराइनेछ। उपभोक्ताले यसका लागि साविककै २ हजार ६० रुपैयाँ तिर्नुपर्नेछ।
यसअघि नेपाल आयल निगमले गत २९ फागुनदेखि परीक्षणका रूपमा ७.१ केजी क्षमताको आधा सिलिन्डर बिक्री–वितरण सुरु गरेको थियो। कम आय भएका परिवार, साना परिवार तथा एकैपटक ठूलो रकम तिर्न कठिन हुने उपभोक्तालाई लक्षित गर्दै उक्त व्यवस्था लागू गरिएको थियो।
तर अब निगमले उक्त व्यवस्था हटाउँदै पुनः पुरानै प्रणालीअनुसार १४.२ केजीको पूरा सिलिन्डर बिक्री गर्ने निर्णय गरेको हो। निगमले जारी गरेको सूचनामा बुधबारदेखि मुलुकभरि नै साविककै परिमाणमा ग्यास भर्ने र बिक्री–वितरण गर्ने व्यवस्था मिलाइएको उल्लेख गरिएको छ।
यस निर्णयसँगै बजारमा ग्यास आपूर्ति थप सहज हुने अपेक्षा गरिएको छ। साथै उपभोक्ताले पुनः पुरानै क्षमताको सिलिन्डर प्रयोग गर्न पाउने भएका छन्। निगमले सबै ग्यास डिलर तथा सम्बन्धित निकायलाई नयाँ व्यवस्थाअनुसार बिक्री–वितरण गर्न निर्देशनसमेत दिएको छ।




























































