काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) बैठकले विश्वका विभिन्न मुलुकमा रहेका प्रतिष्ठित प्राध्यापक, विज्ञ, चिकित्सक, उद्योगी, समाजसेवी तथा एनआरएन अभियन्तालाई समेटेर ५१ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ।
नयाँ समितिमा विभिन्न महादेशबाट नेपाली मूलका विशिष्ट व्यक्तित्वलाई समावेश गरिएको एनआरएनएले जनाएको छ। संघका अनुसार अनुभवी नेतृत्व, विषयगत विज्ञता र अन्तर्राष्ट्रिय सञ्जाललाई संस्थाको नीति निर्माण तथा रणनीतिक कार्यमा उपयोग गर्ने उद्देश्यले समिति गठन गरिएको हो।
अमेरिका र क्यानडा क्षेत्रबाट चिरञ्जीवी घिमिरे, डा. द्रोण रसाली, डा. लक्ष्मी पाठक र डा. मनिका प्रधान सल्लाहकारमा मनोनीत भएका छन्। यसैगरी इभान शर्मा र लक्ष्मण अधिकारी अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्यमा चयन भएका छन्।
बेलायतबाट विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयका मानवशास्त्री प्रोफेसर डेभिड गेल्नर, जनस्वास्थ्य विज्ञ प्रा. पदम सिम्खडा, बीबीसीका पूर्व पत्रकार भगीरथ योगी, एनआरएनए यूकेकी पूर्वअध्यक्ष पुनम गुरुङ तथा अभियन्ता लक्ष्य गुरुङ सल्लाहकार समितिमा समेटिएका छन्। त्यस्तै महिला तथा दोस्रो पुस्ता कोटाबाट कल्पना त्रिपाठी, गौरव राज केसी र जागृत पौडेल आईसीसी सदस्य बनेका छन्। चिकित्सा क्षेत्रबाट डा. सुनील साह विज्ञ सदस्य तथा राजन खकुरेल र रामचन्द्र गुरुङ सदस्यका रूपमा सर्वसम्मत अनुमोदित भएका छन्।
ओशिनिया क्षेत्रअन्तर्गत अष्ट्रेलिया र न्यूजिल्याण्डबाट भवानी ओली, विनोद श्रेष्ठ, इन्द्रा वन, होम पाण्डे, सुरेन्द्र सिग्देल, डा. जगदीश तिम्सिना, डा. पुरु श्रेष्ठ र डा. राजु अधिकारी सल्लाहकार बनेका छन्। आईसीसी सदस्यमा दिवा जोशी, करुणा रावत, प्रा. कृष्ण श्रेष्ठ, इञ्जिनियर राजु उपाध्याय, दीपक भुसाल, केशव जोशी र मिक्की सुवेदी चयन भएका छन्।
युरोपबाट हरिहर अर्याल र डा. गिरीश कँडेल सल्लाहकारमा मनोनीत भएका छन् भने एसिया–प्रशान्त क्षेत्रबाट रोशन केसी, डा. सरोज कँडेल, सुदन थापा, डा. कमल लामिछाने र डा. राम गिरी सल्लाहकार बनेका छन्। थाइल्याण्डबाट प्रा. भारती लिम्बुनी सल्लाहकार तथा कुमार कार्की आईसीसी सदस्य चयन भएका छन्। हङकङबाट कृष्ण पाण्डे र अरुणा गुरुङ, म्यानमारबाट देवेन्द्र नौलखा तथा सिंगापुरबाट अर्थविद् डा. अंगराज तिमिल्सिना पनि सल्लाहकार समितिमा समेटिएका छन्।
त्यसैगरी मध्यपूर्व, अफ्रिका तथा अन्य क्षेत्रबाट यास्मिन बेगम (साउदी अरब), एक नारायण चापागाईं र उत्सव अमात्य (रूस), आर.पी. पन्त (सेशेल्स), नेपालबाट वरिष्ठ उद्योगपति राजेन्द्र खेतान र डा. दिनेश पौडेललाई पनि सल्लाहकारमा मनोनयन गरिएको छ।
एनआरएनएले यसअघि नै सल्लाहकार तथा मानार्थ सदस्य चयन गर्दा पहिले नै जिम्मेवारी सम्हालिसकेका व्यक्तिलाई सम्मान गर्दै नयाँ अनुहारलाई प्राथमिकता दिने नीति अवलम्बन गर्ने निर्णय गरेको थियो। साथै आ–आफ्नो क्षेत्रमा उल्लेखनीय योगदान दिएका विज्ञ तथा अनुभवी व्यक्तित्वलाई संस्थाको नीति निर्माणमा जोड्ने उद्देश्य राखिएको जनाएको छ।
एनआरएनएको विश्वास छ कि विश्वका विभिन्न मुलुकमा रहेका अनुभवी नेपालीको सहभागिताले संस्थाको अन्तर्राष्ट्रिय सञ्जाल थप बलियो बन्ने, नीति निर्माणमा विशेषज्ञताको उपयोग हुने तथा विश्वभर रहेका नेपाली समुदायको हितमा प्रभावकारी ढंगले काम गर्न सहयोग पुग्नेछ। ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद् बैठकले नवगठित सल्लाहकार समितिले संघलाई आगामी कार्यकालमा अझ प्रभावकारी, समावेशी र गतिशील संस्थाका रूपमा अघि बढाउने विश्वास व्यक्त गरेको छ।



























































