काठमाडौं- सरकारले भारत, चीनसहित विभिन्न १३ देशका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको छ।
शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरञ्जीवी थापा, बेलायतका लागि पूर्वप्रधानसेनापति गौरवशमशेर राणा, जापानका लागि जिग्यानकुमार थापा र इजरायलका लागि सुरेशकुमार कर्णलाई राजदूत नियुक्त गर्न सिफारिस गरेको हो।
त्यस्तै, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि शरु जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्जला झा र साउदी अरेबियाका लागि प्रस्तावित राजदूतमा गिरीबहादुर सुनारलाई सिफारिस गरिएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् ।
मन्त्रिपरिषद् बैठकले ‘नेपाली नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३’ स्वीकृत गरेको छ। यस्तै, साविकमा कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको ‘नेपाल मौसम विज्ञान विभाग’लाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत रहने गरी नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ संशोधन गर्ने निर्णयसमेत गरेको प्रवक्ता पोखरेलले जानकारी दिएका छन्।
बैठकले नेपाल विद्युत् प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा दीर्घायुुकुमार श्रेष्ठलाई नियुक्त गरेको छ। साथै, सहसचिव रुद्रसिंह तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरिएको छ।































































