काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने अर्थमन्त्री तथा पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेसँग छलफल गरेपछि काभ्रेपलाञ्चोकस्थित दुसित थानी रिसोर्टबाट काठमाडौं फर्किएका छन्।
लामिछाने शनिबार दिउँसो पत्नी निकितासहित रिसोर्ट पुगेका थिए। सुरक्षा स्रोतका अनुसार उनी साँझ काठमाडौं फर्किसकेका छन् भने अर्थमन्त्री वाग्ले केहीबेरपछि फर्किने कार्यक्रम रहेको छ।
जानकारीअनुसार डा.वाग्ले शनिबार दिउँसो करिब ३ बजे रिसोर्ट पुगेका थिए। त्यसको करिब २० मिनेटपछि सभापति लामिछाने पत्नी निकितासहित रिसोर्ट पुगेका थिए। उनीहरू वाग्लेकै लगानी रहेको निजी भिल्लामा बसेर केही घण्टा छलफल गरेका थिए।
पछिल्लो समय सरकार र रास्वपाबीचको सम्बन्ध, सरकारमा पार्टीको भूमिकाबारे भइरहेका बहस तथा समसामयिक राजनीतिक घटनाक्रमका बीच दुई शीर्ष नेताबीच भएको भेटलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। विशेषगरी सरकार र पार्टीबीच तालमेल, आगामी राजनीतिक रणनीति तथा समसामयिक विषयमा छलफल भएको हुन सक्ने अनुमान गरिएको छ।
यद्यपि, भेटवार्तामा के–कस्ता विषयमा छलफल भयो भन्नेबारे रास्वपा वा अर्थमन्त्री वाग्लेले कुनै औपचारिक जानकारी दिएका छैनन्। यसले भेटको उद्देश्यलाई लिएर विभिन्न राजनीतिक अड्कलबाजीसमेत बढाएको छ।
रास्वपाभित्र संगठन सुदृढीकरण, सरकारसँगको समन्वय र आगामी राजनीतिक रणनीतिलाई लिएर विभिन्न चरणमा छलफल भइरहेका बेला दुई शीर्ष नेताको यो भेटलाई पार्टीको भावी रणनीति तय गर्ने सन्दर्भमा पनि अर्थपूर्ण रूपमा हेरिएको छ।



























































