काठमाडौं – बागमती प्रदेश सरकारमा नयाँ राजनीतिक समीकरण बनेसँगै नेकपा एमाले सरकारबाट बाहिरिएको छ।
यससँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारको भविष्यलाई लिएर राजनीतिक चासो बढेको छ भने बानियाँकै नेतृत्वमा सरकारलाई निरन्तरता दिने प्रयास पनि तीव्र बनेको छ। हाल प्रतिपक्षमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कंग्रेस मिलेर सरकार बन्ने सम्भावना बढेर गएको छ ।
एमालेका तर्फबाट सरकारमा सहभागी सबै ६ जना मन्त्रीले सामूहिक रूपमा राजीनामा दिएका छन् भने सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइएको छ।
एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री बानियाँलाई सम्बोधन गर्दै पठाएको पत्रमार्फत नेपालको संविधानको धारा १६८ को उपधारा (२) तथा पार्टीको निर्णयअनुसार आजकै मितिदेखि लागू हुने गरी सबै मन्त्रीले संयुक्त रूपमा राजीनामा दिएको जानकारी गराएका हुन्।
राजीनामा बुझाउने मन्त्रीहरूमा कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसुदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटा, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयअन्तर्गत यातायात हेर्ने मन्त्री जयराम थापा, कृषि मन्त्रालयअन्तर्गत वन तथा वातावरण हेर्ने मन्त्री भरतबहादुर केसी, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य हेर्ने मन्त्री किरण थापा तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ रहेका छन्।
एमाले संसदीय दलका नेता थपलियाले सरकारलाई दिइएको समर्थन पनि औपचारिक रूपमा फिर्ता लिइएको जानकारी दिएका छन्। मन्त्रीहरू गत ३२ असारमा मन्त्रिपरिषद् बैठकपछि काठमाडौं फर्किएका थिए भने पार्टीको निर्देशनपछि मंगलबार राति हेटौंडा पुगेर राजीनामा बुझाएका हुन्।



























































