काठमाडौं- नेपाली कांग्रेसले जननायक बीपी कोइरालाको स्मृति दिवसको अवसरमा ‘जलवायु जनचेतना जगाऔँ’ भन्ने नारासहित विविध कार्यक्रम आयोजना गरेको छ।


ADVERTISEMENT


बुधबार ललितपुरमा आयोजित कार्यक्रममा ‘ग्रीन रन’, ‘ग्रीन टेबल संवाद’ तथा जलवायु संकट झल्काउने चित्रकला प्रदर्शनी गरिएको थियो। कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापाले ‘ग्रीन रन’ केवल दौड प्रतियोगिता नभई जलवायु परिवर्तनप्रति जनचेतना जगाउने र सामूहिक संकल्प गर्ने अभियान भएको बताए।


ADVERTISEMENT

# # #


उनले जननायक बीपी कोइरालाले विकास, प्राकृतिक स्रोत–साधनको न्यायपूर्ण उपयोग तथा समावेशितालाई दिएको महत्वलाई कांग्रेसले निरन्तर आत्मसात् गर्दै आएको उल्लेख गरे। सात दशकअघि बीपीले अघि सारेको समावेशी सोचप्रति पार्टी आज पनि पूर्ण प्रतिबद्ध रहेको उनको भनाइ थियो।

कार्यक्रमकै अवसरमा सभापति थापाले ‘मानव सहायता कल्याण कोष’ स्थापना गर्ने घोषणा पनि गरे। उक्त कोषमार्फत घरबारविहीन, एकल महिला तथा बालबालिकालाई सहयोग गरिने जानकारी दिँदै हालसम्म पार्टीका सदस्यबाट १० लाख रुपैयाँ संकलन भइसकेको र आगामी दिनमा रकम थप्दै लगिने बताए।

यसैबीच, ग्रीन रन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने ६ जना धावकलाई नगद पुरस्कार प्रदान गरिएको छ। पाँच किलोमिटर दौड १६ मिनेट १५ दशमलव ७ सेकेन्डमा पूरा गर्दै मुकेशबहादुर पाल प्रथम बने। उनले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

त्यस्तै नरेन्द्र सिंह रावल दोस्रो हुँदै २५ हजार, सञ्जय श्रेष्ठ तेस्रो हुँदै २० हजार, गणेश सिंह चौथो हुँदै १२ हजार, अमृत ठाकुरी पाँचौं हुँदै १० हजार तथा नागेश्वर अहिर छैटौं हुँदै ८ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।