काठमाडौं- विपक्षी दलहरूले मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे ध्यानाकर्षण गराउन राष्ट्रिय सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन्।
बुधबार नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६७ बमोजिम गृहमन्त्रीको ध्यानाकर्षण गराउने उद्देश्यसहित उक्त प्रस्ताव दर्ता गरेका हुन्।
नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेता कमला पन्त प्रस्तावक रहेको प्रस्तावमा ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना–२०८३’ को हालसम्मको कार्यान्वयन अवस्था तथा विपद् व्यवस्थापनका लागि गरिएको तयारीबारे विस्तृत जानकारी माग गरिएको छ।
कांग्रेसका प्रमुख सचेतक पदमबहादुर परियार ले विपद्को पूर्वसूचना प्रणालीअन्तर्गत निःशुल्क एसएमएस सेवा प्रभावकारी रूपमा सञ्चालन भए–नभएको, यसको पहुँच, उपलब्धता, समयमै सूचना प्रवाह तथा प्रभावकारिताबारे पनि सरकारसँग स्पष्ट जवाफ माग गरिएको जानकारी दिए।
उनले मनसुनजन्य विपद्को जोखिम बढ्दै गएकाले सरकारले हालसम्म गरेका तयारी, राहत तथा उद्धारका योजना स्पष्ट पार्न र थप क्षति हुन नदिन तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई निर्देशन दिनुपर्ने आवश्यकता रहेको बताए।
प्रस्तावमा विपद् व्यवस्थापनका लागि आवश्यक बजेट, राहत कोषको अवस्था, वैकल्पिक व्यवस्थापन, उद्धार तथा पुनःस्थापनाको तयारी, जोखिमयुक्त क्षेत्र र समुदायको सुरक्षा तथा सम्बन्धित निकायबीचको समन्वयलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराइएको छ।



























































