काठमाडौं-  प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको हस्तकला क्षेत्रको प्रवर्द्धन र विस्तारमा सरकारले विशेष ध्यान दिने बताएका छन्।


ADVERTISEMENT


बुधबार सिंहदरबारमा नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग भएको छलफलमा प्रधानमन्त्री शाहले हस्तकला नेपालको मौलिक पहिचानसँग जोडिएको क्षेत्र भएकाले यसको संरक्षण, प्रवर्द्धन र बजार विस्तारमा सरकार प्रतिबद्ध रहेको बताए।


ADVERTISEMENT

# # #


उनले सातै प्रदेशमा हस्तकलाग्राम स्थापना गरी स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न महासंघ तथा सम्बन्धित निकायसँग सहकार्य गरिने जानकारी दिएका छन्। हस्तकलामार्फत नेपालको अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्दै निर्यात बढाउने र राजस्व वृद्धि गर्ने सरकारको लक्ष्य रहेको पनि उनले उल्लेख गरेका छन्।

नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्यका अनुसार छलफलमा विगत १५ वर्षदेखि मनाइँदै आएको हस्तकला दिवसलाई राष्ट्रिय रूपमा मान्यता दिने प्रस्तावमा पनि सकारात्मक छलफल भएको छ। प्रधानमन्त्रीले सम्बन्धित निकायमार्फत आवश्यक निर्णय प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

त्यस्तै, हस्तकला क्षेत्रका समस्या, चुनौती र सम्भावनाको समग्र अध्ययन तथा समाधानका लागि हस्तकला विकास बोर्ड गठन गर्ने विषयमा पनि प्रधानमन्त्रीले प्रतिबद्धता व्यक्त गरेका छन्।

छलफलमा लामो समयदेखि रोकिएको ‘सार्क हस्तकला विकास केन्द्र’ लाई सम्बन्धित निकायसँग समन्वय गरी पुनः सञ्चालनमा ल्याउने विषयमा समेत कुराकानी भएको महासंघले जनाएको छ।

बैठकमा महासंघका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापित, सल्लाहकार विकासरत्न ढकाल तथा हस्तकला क्षेत्रका व्यवसायीहरूको सहभागिता रहेको छ।