काठमाडौं- नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (NAS-IT) ले ‘NAS-IT Expo 2026’ आगामी नोभेम्बर २१ र २२ गते ललितपुरको हेरिटेज गार्डेन, सानेपा मा आयोजना गर्ने घोषणा गरेको छ।
नेपालको सूचना प्रविधि (आईटी) क्षेत्र, व्यवसाय, नीति निर्माता, लगानीकर्ता, उद्यमी, विद्यार्थी तथा प्रविधिप्रेमीलाई एउटै मञ्चमा ल्याउने उद्देश्यसहित आयोजना हुने यस एक्स्पोले नवप्रवर्तन, सहकार्य र व्यवसायिक अवसर विस्तारमा जोड दिने आयोजकले जनाएको छ।
गत वर्ष सम्पन्न NAS-IT Expo 2025 को सफलतापछि आयोजना गर्न लागिएको यस संस्करणले प्रविधि कम्पनीहरूलाई आफ्ना नवीनतम समाधान प्रदर्शन गर्ने, नयाँ साझेदारी विस्तार गर्ने तथा नेपालको डिजिटल रूपान्तरणलाई थप गति दिने लक्ष्य राखेको छ।
आयोजकका अनुसार NAS-IT Expo 2025 मा २ हजार ५ सयभन्दा बढी सहभागी तथा ३० भन्दा बढी प्रविधि कम्पनीहरूको सहभागिता रहेको थियो। प्रदर्शनीमा उद्योगका अगुवा, सरकारी अधिकारी, कूटनीतिक प्रतिनिधि, लगानीकर्ता, निजी क्षेत्र, स्टार्टअप, विद्यार्थी तथा प्रविधिमा रुचि राख्ने व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी कम्पनीहरूले नयाँ व्यवसायिक अवसर, रणनीतिक साझेदारी र प्रभावकारी नेटवर्क विस्तार गर्न सफल भएका थिए।
यस वर्षको एक्स्पोले नेपालका प्रविधि कम्पनीहरूको क्षमता प्रदर्शन गर्दै विभिन्न उद्योगमा स्वदेशी आईटी समाधानको प्रयोग प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। साथै प्रविधि सेवा प्रदायक, व्यवसायिक संस्था र सरोकारवालाबीच सहकार्य बढाएर नेपालको डिजिटल अर्थतन्त्रलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
एक्स्पोमा अग्रणी आईटी कम्पनी तथा स्टार्टअपहरूको प्रदर्शनी, व्यवसायिक समस्याका लागि नवीन प्रविधि समाधान, नेटवर्किङ कार्यक्रम, कृत्रिम बुद्धिमत्ता (AI), साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ, डिजिटल रूपान्तरण र नवप्रवर्तनसम्बन्धी अन्तरक्रियात्मक सत्रहरू आयोजना गरिनेछ। सहभागीहरूले नयाँ साझेदारी, लगानी तथा व्यवसायिक अवसर खोज्न सक्ने आयोजकले जनाएको छ।
प्रदर्शक तथा आगन्तुक दर्ता, कार्यक्रम तालिका, वक्ता र साझेदारीसम्बन्धी थप विवरण आगामी केही साताभित्र सार्वजनिक गरिने NAS-IT ले जनाएको छ।



























































