काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय एकताकै बलमा समृद्ध नेपाल निर्माण गर्न सकिने बताएका छन्। उनले आपसी भाइचारा, सहिष्णुता र राष्ट्रप्रेमलाई अझ सुदृढ बनाउँदै भावी पुस्तामा राष्ट्रिय चेतना जगाउनुपर्नेमा जोड दिएका छन्।
शुक्रबार शीतल निवासमा आयोजित राष्ट्रिय विभूति भीमसेन थापाको २५५औँ जन्मजयन्ती तथा पुरस्कार एवं सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले राष्ट्रिय एकताको जग बलियो भए मात्रै मुलुकले दिगो समृद्धिको लक्ष्य हासिल गर्न सक्ने बताए। उनले राष्ट्रप्रेमप्रतिको अटल आस्था र प्रतिबद्धतालाई व्यवहारमा उतार्दै समाजमा एकता र सद्भावको वातावरण निर्माण गर्न सबै पक्षको भूमिका महत्त्वपूर्ण रहने उल्लेख गरे।
राष्ट्रपति पौडेलले भ्रष्टाचार, विकृति र विसंगतिको अन्त्य गरी सुशासन स्थापना गर्न सके विकासका कामले गति लिने बताए। उनले सबै नागरिक र सरोकारवाला पक्षलाई मुलुकको समृद्धिका लागि साझा प्रयास गर्न आह्वान गरेका छन्।
उनले नेपालको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय गौरव कायम राख्न पुर्खाले गरेको त्याग, बलिदान, साहस र वीरताको स्मरण गर्दै त्यसको सम्मान गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।
राष्ट्रपति पौडेलले राष्ट्रिय विभूति भीमसेन थापालाई इमानदार, दूरदर्शी र कुशल प्रशासकका रूपमा स्मरण गर्दै उनको शासनकालमा सामाजिक, आर्थिक, कानुनी तथा सैनिक आधुनिकीकरणका क्षेत्रमा भएका सुधारहरूले राष्ट्र निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याएको बताएका छन्।
कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई राष्ट्रिय विभूति भीमसेन थापा सम्मानबाट सम्मानित गरिएको थियो।



























































