काठमाडौं- प्रधानमन्त्री बालेन शाहले नेपालका प्रमुख निर्यातजन्य उद्योग तथा व्यवसायसँग सम्बन्धित समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
शुक्रबार सिंहदरबारमा निर्यातजन्य उद्योग व्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले निर्यात प्रवर्द्धनका चुनौतीबारे जानकारी लिँदै नीतिगत सुधार र समस्या समाधानका लागि सरकारले आवश्यक पहल गर्ने बताएका हुन्।
छलफलका क्रममा नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष एवं उद्योग वाणिज्य महासंघ निर्यात समितिका सभापति होमप्रसाद घिमिरेले निर्यातजन्य उद्योगमा देखिएका समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
उनले कच्चा पदार्थको सहज उपलब्धता, गुणस्तर मापदण्डबीचको समकक्षता कायम गर्ने विषय तथा अन्य व्यावसायिक चुनौतीबारे सरकारको ध्यानाकर्षण गराएको बताए। प्रधानमन्त्री शाहले सम्बन्धित निकायलाई तत्काल गर्न सकिने कामहरू अघि बढाउन निर्देशन दिएको जानकारी दिइएको छ।
प्रधानमन्त्रीले प्लाइउड निर्यातका लागि आवश्यक कार्यविधि तत्काल तयार गरी कार्यान्वयनमा लैजान निर्देशन दिएको घिमिरेले बताए।
छलफलमा नेपाल गलैंचा उत्पादक तथा निर्यातकर्ता संघका अध्यक्ष बलराम गुरुङले अमेरिकातर्फको गलैंचा निर्यातमा देखिएका समस्या प्रधानमन्त्रीसमक्ष राखेका थिए। उनले उपभोक्ता सुरक्षा प्रमाणीकरण परीक्षण गर्ने प्रविधि नेपालमा उपलब्ध नहुँदा गलैंचा निर्यातमा समस्या भइरहेको जानकारी गराएका छन्।
जवाफमा प्रधानमन्त्री शाहले सम्बन्धित निकायसँग समन्वय गरी समस्या समाधानका लागि पहल गर्न निर्देशन दिएको गुरुङले बताए। प्रधानमन्त्रीले निर्यात क्षेत्रका समस्या समाधान गर्दै नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सरकार सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।



























































