काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले सुशासन स्थापना, आर्थिक सुधार र विकासको नयाँ ढोका खोल्न उच्च इमानदारीका साथ काम गरिरहेको बताएका छन्।
शनिबार अस्ट्रेलियामा रहेका नेपाली युवा उद्यमीहरूको सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने मान्यतालाई सरकार र पार्टीले उच्च प्राथमिकतामा राखेको बताए। उनले प्रवासी नेपालीहरूलाई यस विषयमा ढुक्क हुन आग्रह गर्दै नेपालको विकास र लगानीका लागि उनीहरूलाई सद्भावना दूतको रूपमा चित्रण गरे।
अर्थमन्त्री वाग्लेले मुलुकको समृद्धि हासिल गर्न प्रवासी नेपालीको लगानी, ज्ञान र अनुभव महत्वपूर्ण हुने उल्लेख गर्दै सरकार उनीहरूसँग सहकार्य गर्न प्रतिबद्ध रहेको बताए।
सरकारको पहिलो १०० दिनको कार्यकालको समीक्षा गर्दै उनले सरकारी सेवा प्रवाहलाई सरल, पारदर्शी र प्रभावकारी बनाउने तथा अर्थतन्त्रलाई सही दिशामा अघि बढाउने प्रयास भइरहेको बताए। नेतृत्वमा उच्च नैतिकता, योग्यता ९मेरिटोक्रेसी० र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अपनाउँदै पछिल्लो एक दशककै उल्लेखनीय सुधारको आधार तयार पारिएको पनि उनले दाबी गरे।



























































