काठमाडौँ- भारत सरकारको आर्थिक सहयोगमा सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्लास्थित भीमदत्त नगरपालिका–१० मा रहेको श्री महेश्वर माध्यमिक विद्यालयको नयाँ विद्यालय भवन निर्माणको औपचारिक सुरुवात भएको छ।


ADVERTISEMENT


शनिबार आयोजित कार्यक्रममा काठमाडौँस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दन र भीमदत्त नगरपालिकाका उपप्रमुख नीलम लेखक जोशीले संयुक्त रूपमा भवन निर्माणको शिलान्यास गरेका हुन्।


ADVERTISEMENT

# # #


भारतीय राजदूतावासका अनुसार करिब नेरु १ करोड ९० लाख लागतमा निर्माण हुने उक्त भवन भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजना (High Impact Community Development Project–HICDP) अन्तर्गत निर्माण हुन लागेको हो। परियोजना भीमदत्त नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ।

यो परियोजना कञ्चनपुर जिल्लामा सञ्चालन भइरहेको ११औँ उच्च प्रभाव सामुदायिक विकास परियोजना हो। विद्यालय भवन निर्माणपछि आधुनिक कक्षाकोठा तथा आवश्यक शैक्षिक पूर्वाधार उपलब्ध हुने अपेक्षा गरिएको छ, जसबाट विद्यार्थीलाई सुरक्षित र गुणस्तरीय शिक्षण–सिकाइ वातावरण प्राप्त हुनेछ।

शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा अन्य सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै भीमदत्त नगरपालिकाका उपप्रमुख नीलम लेखक जोशीले शिक्षा क्षेत्रमा भारत सरकारको निरन्तर सहयोगको प्रशंसा गर्दै नयाँ भवनले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन्।

स्थानीय सरोकारवालाहरूले पनि विद्यालयको भौतिक पूर्वाधार सुदृढ भएपछि विद्यार्थीको सिकाइ वातावरण थप प्रभावकारी हुने र समुदायले प्रत्यक्ष लाभ प्राप्त गर्ने धारणा राखेका थिए।

भारतीय राजदूतावासले जारी गरेको विज्ञप्तिमा नेपाल र भारतबीचको बहुआयामिक तथा घनिष्ठ साझेदारीलाई उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, खानेपानी, संस्कृति र सामुदायिक पूर्वाधारलगायतका क्षेत्रमा उच्च प्रभाव सामुदायिक विकास परियोजनामार्फत सहयोग निरन्तर विस्तार हुँदै आएको जनाएको छ।

राजदूतावासका अनुसार यस्ता परियोजनाले स्थानीय तहमा आवश्यक पूर्वाधार निर्माण गरी जनजीवन सहज बनाउनुका साथै नेपाल सरकारको विकास र समृद्धिको लक्ष्यलाई सहयोग पुर्‍याउने उद्देश्य राखेका छन्। भारतले विगतदेखि नै नेपालका विभिन्न जिल्लामा विद्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन र अन्य सार्वजनिक पूर्वाधार निर्माणमा सहयोग गर्दै आएको छ।