काठमाडौं- धार्मिक अभियन्ता राधिका दासीले आफ्नो व्यक्तिगत प्रतिष्ठा, धार्मिक पहिचान र सामाजिक सम्मानमाथि आघात पुगेको दाबी गर्दै निष्पक्ष अनुसन्धान र न्यायको माग गरेकी छन्।


ADVERTISEMENT


काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले आफू कुनै राजनीतिक स्वार्थ, प्रतिशोध वा कसैको मानमर्दन गर्न नभई सत्यको स्थापना र कानुनी न्यायको अपेक्षासहित सार्वजनिक रूपमा उपस्थित भएको बताएकी छिन्।


ADVERTISEMENT

# # #


उनले आफ्नो चरित्र र धार्मिक जीवनसँग सम्बन्धित अपुष्ट तथा मानहानिजन्य सामग्री सार्वजनिक भएको गुनासो गर्दै यसले आफू, आफ्नो परिवार र हजारौं श्रद्धालुको भावनामा गम्भीर चोट पुगेको उल्लेख गरेकी छिन्।

राधिका दासीले अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै त्यसको दुरुपयोग गरेर कसैको प्रतिष्ठामा आँच पुर्‍याउने, चरित्रहत्या गर्ने वा धार्मिक भावनामाथि प्रहार गर्ने कार्य स्वीकार्य हुन नसक्ने बताएकी छिन्। उनले संविधानले दिएको सम्मानपूर्वक बाँच्न पाउने, धर्म अभ्यास गर्न पाउने र प्रतिष्ठाको संरक्षणको अधिकार सुनिश्चित गरिनुपर्ने धारणा राखेकी छिन्।

उनले न्यायको खोजीमा सम्बन्धित निकायमा उजुरी दर्ता गरिसकेको र गृहमन्त्रीसँग प्रत्यक्ष भेटेर आफ्नो पीडा सुनाउन प्रयास गरे पनि सफल हुन नसकेको अनुभवसमेत सुनाएकी छिन्। उनले कानून सबैका लागि समान हुनुपर्ने र सत्य तथ्यका आधारमा मात्र निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिएकी छिन्।

पत्रकार सम्मेलनमा उनले नेपाल सरकार, गृह मन्त्रालय, नेपाल प्रहरी, साइबर ब्यूरो, राष्ट्रिय मानव अधिकार आयोगलगायत सम्बन्धित निकायसँग स्वतन्त्र, निष्पक्ष र पारदर्शी अनुसन्धान गर्न आग्रह गरेकी छिन्। साथै, अनुसन्धान प्रक्रियामा कुनै प्रकारको अनुचित प्रभाव परेको भए त्यसको पनि छानबिन गर्न माग गरेकी छिन्

राधिका दासीले साइबर माध्यमबाट हुने मानहानि, चरित्रहत्या र डिजिटल दुर्व्यवहार रोक्न प्रभावकारी कानुनी संयन्त्र निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउँदै सरकारसमक्ष आठ बुँदे मागसमेत प्रस्तुत गरेकी छिन्। उनले सञ्चारमाध्यमलाई सत्य, प्रमाण र जिम्मेवार पत्रकारिताको पक्षमा उभिन आग्रह गर्दै सामाजिक सञ्जालमा अपुष्ट सूचना र घृणाजन्य सामग्री नफैलाउन सबैलाई अपिल गरेकी छिन्।

पत्रकार सम्मेलनको अन्त्यमा उनले आफ्नो संघर्ष शान्तिपूर्ण र कानुनी रूपमा जारी रहने स्पष्ट पार्दै भनिन्, “सत्य लुक्न सक्छ, तर पराजित हुँदैन। अन्ततः सत्य र न्यायकै विजय हुन्छ।