काठमाडौं- वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा मंगलबार देशभरका अस्पतालमा आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द गरिएको छ।
संघले साउन ९ गते नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा गरिएको तोडफोडमा संलग्नलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।
चिकित्सकहरूको आन्दोलनका कारण देशभरका सरकारी तथा निजी अस्पतालमा ओपीडी, नियमित स्वास्थ्य परीक्षण, शल्यक्रियालगायत आकस्मिकबाहेकका अधिकांश सेवा प्रभावित भएका छन्।
सेवा बन्द हुँदा उपचारका लागि अस्पताल पुगेका बिरामी तथा सेवाग्राहीहरू समस्यामा परेका छन्। नेपाल चिकित्सक संघले दोषीमाथि कडा कारबाही नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने चेतावनी दिएको छ।




























































