काठमाडौं- मिलापत्रका नाममा थप पीडा दिएको आरोप लगाउँदै सहकारी पीडितहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको नेतृत्वमा मंगलबार भएको प्रदर्शनमा सहभागीहरूले विभिन्न निकायबाट सहकारी संस्थासँग मिलापत्र गर्न दबाब आएको र त्यसले आफूहरू झन् समस्यामा परेको गुनासो गरेका छन्।
प्रदर्शनकारीहरूले साना र ठूला सबै बचतकर्तालाई समान व्यवहार गर्नुपर्ने, बचत रकम छिटोभन्दा छिटो फिर्ता गरिनुपर्ने तथा ऋणीबाट असुलउपर गरी भए पनि बचतकर्ताको रकम उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
अभियानका अध्यक्ष कुशल केसीले सरकारले केही साना बचतकर्तालाई आंशिक रकम फिर्ता दिए पनि वास्तविक सहकारी पीडितको समस्या समाधानतर्फ पर्याप्त ध्यान नदिएको आरोप लगाएका छन्।
उनले समस्याग्रस्त घोषणा नगरिएका केही सहकारीहरूले समेत बचतकर्ताको अर्बौं रुपैयाँ हिनामिना गरेको दाबी गर्दै यस्ता विषयमा राज्य गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याएका छन्। साथै, दोषीमाथि कडा कारबाही गर्दै सबै पीडितलाई समान रूपमा न्याय दिलाउन सरकारसँग आग्रह गरेका छन्।




























































