काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै हिन्दू संघ–संस्थासँग आबद्ध युवाहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।


ADVERTISEMENT


प्रदर्शनकारीहरूले आइतबार राति कप्तानगञ्जमा भएको घटनाका क्रममा सशस्त्र प्रहरीको गोली लागेर एक हिन्दू युवाको मृत्यु भएको भन्दै घटनाको सत्यतथ्य सार्वजनिक गर्न र निष्पक्ष छानबिन गर्न माग गरेका हुन्।


ADVERTISEMENT

# # #


उनीहरूले प्रदर्शनका क्रममा ‘गोली हिन्दूमाथि मात्रै किन?’ भन्दै प्रश्न उठाउँदै जातीय तथा साम्प्रदायिक द्वन्द्व रोक्न राज्य गम्भीर बन्नुपर्नेमा जोड दिएका छन्।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा सशस्त्र प्रहरीको गोली लागेर देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो।

उक्त घटनामा गोली लागेर ९ जना सर्वसाधारण घाइते भएका छन् भने झडपका क्रममा सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएको जनाइएको छ। प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा पीडित परिवारलाई न्याय दिन सरकारसँग माग गरेका छन्।