काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ। झण्डै एक वर्षदेखि क्यान्सर रोगसँग संघर्षरत रहेका श्रेष्ठको ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको हो।
श्रेष्ठ नेपाली कांग्रेसका अनुभवी नेता तथा नेपालको लोकतान्त्रिक आन्दोलनका सक्रिय अभियन्तामध्ये एक थिए। उनले विभिन्न समयमा पार्टी र सरकारमा महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै राष्ट्रिय राजनीतिमा उल्लेखनीय योगदान दिएका थिए। उनी नेपाल सरकारका उपप्रधानमन्त्रीसहित विभिन्न मन्त्रालयको जिम्मेवारीमा पनि रहिसकेका थिए।
हालै सम्पन्न ४४औँ वीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसका सभापति गगन थापाले श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता घोषणा गरेका थिए। लामो राजनीतिक योगदानको सम्मानस्वरूप उनलाई उक्त जिम्मेवारी प्रदान गरिएको थियो।
श्रेष्ठको निधनसँगै नेपाली कांग्रेससहित समग्र राजनीतिक वृत्तमा शोक छाएको छ। विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले उनको निधनप्रति दुःख व्यक्त गर्दै नेपालको लोकतान्त्रिक आन्दोलन, पार्टी संगठन र राष्ट्रिय राजनीतिमा उनले पुर्याएको योगदानको स्मरण गरेका छन्।
परिवारका सदस्य मेखलाल श्रेष्ठका अनुसार बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर राखिने र त्यसपछि पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने जानकारी दिएका छन् ।।
श्रेष्ठको निधनसँगै नेपाली कांग्रेसले एक अनुभवी, संघर्षशील र समर्पित नेतालाई गुमाएको भन्दै पार्टीका नेता तथा कार्यकर्ताले गहिरो श्रद्धाञ्जली व्यक्त गरेका छन्।




























































