काठमाडौं- नारायणी अस्पताल वीरगञ्जका चिकित्सक डा. प्रमोद राममाथि भएको कुटपिट तथा अस्पतालमा भएको तोडफोडको विरोधमा देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द गरेका छन्। स्वास्थ्य सेवा अवरुद्ध हुँदा बिरामीहरू उपचारबाट प्रभावित भएपछि राष्ट्रिय मानव अधिकार आयोगले तत्काल सेवा सुचारु गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ।
आयोगले चिकित्सकमाथि कुटपिट र अस्पतालजस्तो संवेदनशील क्षेत्रमा तोडफोड हुनु गम्भीर तथा निन्दनीय घटना भएको जनाएको छ। यस्ता गतिविधिले स्वास्थ्यकर्मीको मनोबल कमजोर बनाउनुका साथै कानुनको शासनमाथि समेत चुनौती सिर्जना गर्ने आयोगको भनाइ छ।
आयोगका अनुसार स्वास्थ्यकर्मीहरूले घटनाको विरोधमा सेवा बन्द गर्दा आकस्मिक बाहेकका उपचार सेवा प्रभावित भएका छन्। यसबाट धेरै बिरामीहरू नियमित उपचारबाट वञ्चित हुनुपरेको आयोगले जनाएको छ।
राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव एवं प्रवक्ता डा। टीकाराम पोखरेलले घटनाबारे आयोगले स्थलगत अनुगमनसमेत गरेको जानकारी दिएका छन्। आयोगले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सरकारलाई आग्रह गरेको छ।
साथै, आयोगले सरकार, चिकित्सक तथा सम्बन्धित पक्षलाई वार्ता र संवादमार्फत समस्या समाधान गर्न अपिल गरेको छ। स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकारसँग जोडिएको विषय भएकाले कुनै पनि परिस्थितिमा अत्यावश्यक सेवा अवरुद्ध हुन नदिन आयोगले जोड दिएको छ।




























































