काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले नारायणी अस्पताल वीरगञ्जमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमण तथा अस्पतालमा भएको तोडफोडको घटनाको निन्दा गर्दै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेका छन्।


ADVERTISEMENT


थापाले चिकित्सक तथा स्वास्थ्यकर्मीका जायज माग सम्बोधन गरी अवरुद्ध स्वास्थ्य सेवा तत्काल सुचारु गर्न सरकारसँग आग्रह गरेका छन्। उनले स्वास्थ्य सेवा नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक क्षेत्र भएकाले समस्या समाधानका लागि प्रभावकारी पहल गर्नुपर्ने बताएका छन्।


ADVERTISEMENT

# # #


उनले स्वास्थ्यकर्मीमाथि हुने हिंसा कुनै पनि अवस्थामा स्वीकार्य नहुने उल्लेख गर्दै अस्पताल र स्वास्थ्य संस्थामा सुरक्षित वातावरण सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

साथै, थापाले बिरामी र सर्वसाधारण नागरिकको अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य सेवा लामो समय अवरुद्ध नगर्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई समेत आग्रह गरेका छन्। उनले संवाद र सहमतिका माध्यमबाट समस्या समाधान गरी स्वास्थ्य क्षेत्रलाई सहज रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।