काठमाडौं – सुनसरीलगायत विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित संवेदनशील घटनाक्रमबारे राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकले शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न संयुक्त अपिल जारी गरेको छ।


ADVERTISEMENT


बैठकले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइते भएका नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।


ADVERTISEMENT

# # #


संयुक्त वक्तव्यमा नेपालको पहिचान विविधताबीचको एकता, सहिष्णुता र सहअस्तित्व भएको उल्लेख गर्दै सामाजिक सद्भाव खल्बल्याउने कुनै पनि गतिविधि र उत्तेजनामा नलाग्न सम्पूर्ण नागरिकलाई आग्रह गरिएको छ। आवेग, हिंसा र मुठभेडबाट समस्या समाधान नहुने भएकाले धैर्यता, संयमता र संवादमार्फत निकास खोज्नुपर्नेमा जोड दिइएको छ।

राजनीतिक दलहरूले लोकतान्त्रिक व्यवस्थामा उत्पन्न हुने कुनै पनि असन्तुष्टि वा विवादको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट मात्रै सम्भव हुने उल्लेख गर्दै सम्बन्धित सबै पक्षलाई आफ्ना माग शान्तिपूर्ण रूपमा राख्न आह्वान गरेका छन्।

बैठकले केन्द्र सरकारको प्रयास मात्र पर्याप्त नहुने भन्दै प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गर्न तथा धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनसँग समन्वय गरी स्थानीय तहसम्म संवाद विस्तार गर्न सम्बन्धित पार्टी संरचनालाई निर्देशन दिएको जनाएको छ।

संयुक्त वक्तव्यमा यस्ता दुःखद घटना भविष्यमा दोहोरिन नदिन राजनीतिक दलहरूले निरन्तर समन्वय, अनुगमन र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसैगरी, संवेदनशील परिस्थितिमा सामाजिक सञ्जालमार्फत फैलिने भ्रामक सूचना, घृणास्पद अभिव्यक्ति र अफवाहप्रति सचेत रहन नागरिकलाई आग्रह गर्दै सञ्चारमाध्यमलाई पनि तथ्यपरक, जिम्मेवार र संयमित सूचना सम्प्रेषण गर्न अनुरोध गरिएको छ।

बैठकले नागरिकको जिउधनको सुरक्षा राज्यको पहिलो दायित्व भएको उल्लेख गर्दै सरकारले अधिकतम संयमता अपनाई परिस्थितिलाई सामान्य बनाउन, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न तथा पीडितलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ।

सर्वदलीय बैठकले राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षाका लागि सबै राजनीतिक दल एकताबद्ध रहेको सन्देश दिँदै वर्तमान संकटको दिगो, प्रभावकारी र शान्तिपूर्ण समाधानका लागि सरकारसँग आवश्यक सहकार्य गर्न प्रतिबद्ध रहेको जनाएको छ।