काठमाडौं- सिरहामा बिहीबार भएको झडपका क्रममा गोली लागेर गम्भीर घाइते भएका एक किशोरको मृत्यु भएको छ।
जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार औरही गाउँपालिका–२ का करिब १५ वर्षीय गणेश यादवको उपचारका क्रममा मृत्यु भएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी बरालले घटनाबारे थप विवरण आउन बाँकी रहेको र क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिएका छन्।
प्रदर्शन हिंसात्मक बन्दै गएपछि सिरहाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ। प्रदर्शनका क्रममा आगजनी र तोडफोडका घटना बढेका छन्। सिरहाको गोलबजारस्थित सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मलमा प्रदर्शनकारीले आगजनी गरेका छन् भने प्रहरीले अवस्था नियन्त्रणमा लिन प्रयास गरिरहेको छ।
यता, धनुषाको जनकपुरमा पनि तनाव उत्पन्न भएको छ। जनकपुर उपमहानगरपालिका–८ स्थित पगलाबाबा धर्मशाला नजिक दुई पक्षबीच झडप हुनसक्ने अवस्था सिर्जना भएपछि प्रहरीले करिब ४१ सेल अश्रुग्यास प्रहार गरी भीडलाई तितरबितर बनाएको छ।
हिन्दु धर्मावलम्बीहरूको समूह धर्मशालाबाट मुस्लिम बस्ती प्रवेश गर्न खोजेपछि प्रहरीले रोकेको जनाएको छ। घटनामा दुई जना आन्दोलनकारी र तीन जना प्रहरी घाइते भएका छन्।
सिरहा र जनकपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्रशासनले सर्वसाधारणलाई संयमता अपनाउन र अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ।



























































