काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्जमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सम्पूर्ण नेपालीमा अपिल गरेका छन्।


ADVERTISEMENT


बिहीबार जारी गरेको सन्देशमा राष्ट्रपतिले देवानगञ्जमा उत्पन्न परिस्थितिले सामाजिक सद्भाव र जनजीवनमा पर्न सक्ने असरप्रति आफू गम्भीर रूपमा चिन्तित रहेको उल्लेख गरेका हुन्। उनले लोकतान्त्रिक समाजमा कुनै पनि विवाद वा असहमतिको समाधान हिंसा, उत्तेजना वा द्वन्द्वबाट नभई संविधान, कानून र संवादका माध्यमबाट खोजिनुपर्ने धारणा व्यक्त गरेका छन्।


ADVERTISEMENT

# # #


राष्ट्रपति पौडेलले सबै राजनीतिक दल, नागरिक समाज, स्थानीय समुदाय तथा सरोकारवाला निकायलाई संयमता अपनाउँदै शान्ति, अमनचयन र सुव्यवस्था कायम गर्न सक्रिय भूमिका खेल्न आग्रह गरेका छन्। उनले विविधता नेपालको शक्ति भएकाले कुनै पनि घटनाले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई कमजोर पार्न नहुने बताएका छन्।

देवानगञ्ज घटनाको सत्यतथ्य निष्पक्ष, पारदर्शी र विश्वसनीय ढंगबाट छानबिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिँदै घटनामा संलग्न दोषीमाथि कानूनबमोजिम कारबाही गर्न आग्रह गरेका छन्। साथै भविष्यमा यस्ता घटना पुनः दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था, आवश्यक सतर्कता र समयमै समन्वय गर्न सम्बन्धित निकायलाई सचेत रहन पनि निर्देशन दिएका छन्।

राष्ट्रपति पौडेलले संविधानले प्रत्याभूत गरेका नागरिक अधिकारको सम्मान गर्दै कानूनको शासनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नु राज्यको दायित्व भएको उल्लेख गरेका छन्। उनले सबै नागरिकलाई अफवाह र उत्तेजनात्मक गतिविधिबाट टाढा रहँदै सामाजिक सद्भाव, आपसी विश्वास र सहिष्णुता कायम राख्न आग्रह समेत गरेका छन्।

 राष्ट्रपतिले राष्ट्रिय एकता, शान्ति र सामाजिक सद्भावको संरक्षण सबै नेपालीको साझा जिम्मेवारी भएको उल्लेख गर्दै संयम, संवाद र आपसी सहकार्यबाट वर्तमान चुनौतीको सामना गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।