काठमाडौं- नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलले बागमती प्रदेश सरकारलाई निरन्तरता दिन संसदीय दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई आवश्यक पहल गर्ने जिम्मेवारी सर्वसम्मत रूपमा प्रदान गरेको छ।
बागमती प्रदेशका मुख्यमन्त्री बानियाँ नेतृत्वको सरकारलाई निरन्तरता दिने विषयमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल अभूतपूर्व रूपमा एकढिक्का बनेको छ। सरकारको निरन्तरताका लागि कांग्रेसभित्र पूर्ण एकता देखिएको दाबी गरिएको छ भने अन्य राजनीतिक दलहरूले पनि बानियाँ नेतृत्वको सरकारलाई समर्थन जनाउन थालेका छन्।
कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री बानियाँकै नेतृत्वमा सरकारलाई निरन्तरता दिने निर्णय गर्दै सबै सांसदलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेको छ। दलभित्र देखिएका मतभेद अन्त्य गर्दै प्रदेश सरकारलाई स्थायित्व दिने विषयमा साझा धारणा बनेको नेताहरूले बताएका छन्।
नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारमा सहभागी मन्त्रीहरूले समेत राजीनामा दिएपछि उत्पन्न राजनीतिक परिस्थितिमा कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिन प्रदेश सभामा रहेका सबै राजनीतिक दलसँग लिखित तथा मौखिक समन्वय गर्दै आवश्यक समर्थन जुटाउने जिम्मेवारी मुख्यमन्त्री बानियाँलाई दिइएको निर्णय गरिएको हो। यसका लागि केन्द्रीय नेतृत्वसँग समेत समन्वय गरेर आवश्यक प्रक्रिया अघि बढाइने निर्णय गरिएको छ।
त्यसैगरी, नेपाली कांग्रेसका वरिष्ठ नेता, पूर्व उपप्रधानमन्त्री तथा तत्कालीन नेपाली कांग्रेस (प्रजातान्त्रिक) का कार्यवाहक सभापति गोपालमान श्रेष्ठको ७७ वर्षको उमेरमा निधन भएकोप्रति बागमती प्रदेश सभा संसदीय दलले गहिरो दुःख व्यक्त गरेको छ। दलले स्वर्गीय श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।
यसैबीच, सुनसरीको देवानगञ्ज–कचनागञ्ज क्षेत्रमा भएको दुःखद घटनाप्रति पनि नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलले दुःख व्यक्त गरेको छ। घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरिएको छ।
दलले सबै पक्षलाई धैर्य, संयम र संवादमार्फत समस्या समाधान गर्न तथा धार्मिक एवं सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ। साथै, परिस्थितिलाई थप बिग्रिन नदिन संघीय सरकारसँग समन्वय गरी आवश्यक पहल गर्न बागमती प्रदेश सरकारसँग अनुरोध गरिएको छ।





























































