काठमाडौं । कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी निम्बज (NIMBUZZ) बीच ग्राहकलाई थप नवीन तथा डिजिटल सेवा उपलब्ध गराउने उद्देश्यले सहकार्य सम्झौता भएको छ।
सम्झौतासँगै निम्बजको अन्तर्राष्ट्रिय eSIM तथा अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट (IDP) सम्बन्धी सेवा कुमारी बैंकको मोबाइल बैंकिङ एपमा एकीकृत गरिएको बैंकले जनाएको छ।
यससँगै कुमारी बैंकका ग्राहकले अब मोबाइल बैंकिङ एपमार्फत सहज रूपमा अन्तर्राष्ट्रिय eSIM डेटा प्याकेज खरिद गर्न तथा IDP का लागि आवेदन दिन सक्नेछन्। विदेश यात्रा गर्ने, उच्च शिक्षा अध्ययनका लागि विदेश जाने, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा व्यवसायिक प्रयोजनका लागि नियमित विदेश यात्रा गर्ने ग्राहकलाई यो सेवा विशेष रूपमा उपयोगी हुने विश्वास बैंकले लिएको छ।
बैंकका अनुसार विदेश पुगेपछि स्थानीय सिम कार्ड खोज्ने, सिम परिवर्तन गर्ने वा विभिन्न नेटवर्क सेवा खोज्नुपर्ने झन्झट हटाउँदै eSIM सेवाले सहज रूपमा इन्टरनेट प्रयोग गर्न मद्दत गर्नेछ। त्यस्तै, IDP सेवाले अन्तर्राष्ट्रिय ड्राइभिङ अनुमति प्राप्त गर्ने प्रक्रिया अझ सरल, छिटो र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
ग्राहकले eSIM र IDP सेवाको शुल्क कुमारी बैंकको मोबाइल बैंकिङ एपमार्फत नेपाली रुपैयाँ (NPR) मै भुक्तानी गर्न सक्ने सुविधा पनि उपलब्ध गराइएको छ। यसबाट विदेशी मुद्रामा भुक्तानी गर्नुपर्ने झन्झट कम हुने र सम्पूर्ण प्रक्रिया अझ सहज तथा सुरक्षित बन्ने बैंकको विश्वास छ।
विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर २८५ शाखा, ४१ एक्सटेन्सन काउन्टर, ३०३ एटीएम र ४० शाखारहित बैंकिङ केन्द्र मार्फत सेवा दिँदै आएको जनाएको छ।































































