काठमाडौं – दीपमाला ढकाल मिस नेपालको मुख्य उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली (एनआरएन) बनेकी छन्।
हङकङमा हुर्किएकी दीपमालाले यस वर्षको प्रतिस्पर्धामा उपाधिसँगै तीन ऐतिहासिक कीर्तिमान समेत कायम गरेकी छन्। दीपमाला विदेशमै स्थायी रूपमा बसोबास गर्ने नेपाली मूलकी युवतीमध्ये पहिलो पटक मिस नेपालको ताज जित्न सफल भएकी हुन्। यसअघि विदेशबाट आएका केही प्रतियोगीले सहभागिता जनाए पनि मुख्य उपाधि जित्न सकेका थिएनन्।
उनले मिस नेपाल हङकङको उपाधि जितेर मुख्य प्रतियोगितामा प्रवेश गरेकी थिइन्। डायस्पोरा प्रतियोगिताको विजेताले त्यसपछि लगातार मिस नेपालको उपाधि जितेको यो पहिलो अवसर हो।
ग्रान्ड फिनालेमा दीपमालाले मिस भिजनरी ग्रीन, मिस हेल्थ हार्मोनी, मिस कन्फिडेन्स र ब्यूटी विथ पर्पस गरी चार सहविधा जित्दै अर्को नयाँ कीर्तिमान पनि बनाएकी छन्।
हाल गैरआवासीय नेपाली संघ (एनआरएनए) को दोस्रो पुस्ता संयोजकको जिम्मेवारीमा रहेकी दीपमालाको सफलता व्यक्तिगत उपलब्धिमात्र नभई विश्वभर रहेका नेपाली समुदायका लागि पनि गर्वको विषय बनेको छ।
अब उनले आगामी मिस वर्ल्ड प्रतियोगिताका लागि तयारी गर्नेछिन् भने मिस नेपाल इन्टरनेसनल आर्या निशान्त र मिस नेपाल कस्मो कशिश सुब्बाले क्रमशः अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन्।



























































