काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई केवल शक्ति र सत्ता प्राप्त गर्ने माध्यमका रूपमा नलिई जनसेवा र मानव सेवाको सबैभन्दा ठूलो माध्यमका रूपमा लिनुपर्ने बताएका छन्।


ADVERTISEMENT


नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रमको उद्घाटन गर्दै थापाले जनताको सेवा नै राजनीतिको मूल उद्देश्य हुनुपर्ने धारणा राखेका छन्।


ADVERTISEMENT

# # #


उनले विपद् व्यवस्थापनमा भावना र इच्छाशक्ति मात्र पर्याप्त नहुने उल्लेख गर्दै उद्धार तथा राहत कार्य प्रभावकारी बनाउन सीपमा आधारित तयारी आवश्यक रहेको बताएका छन्।

थापाले नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा स्वयंसेवक संयन्त्र स्थापना गर्ने योजना अघि बढाएको जानकारी दिएका छन्। उनका अनुसार उक्त संयन्त्र विपद् आइसकेपछि मात्र सक्रिय हुने नभई वर्षभरि नै विपद् जोखिम न्यूनीकरण, जनचेतना अभिवृद्धि तथा पूर्वतयारीका कार्यक्रम सञ्चालन गर्नेछ।

उनले प्राकृतिक विपद्बाट प्रभावित नागरिकप्रति गहिरो संवेदना व्यक्त गर्दै पीडितको आर्थिक तथा व्यक्तिगत क्षतिलाई राज्य र समाजले गम्भीरतापूर्वक बुझ्नुपर्ने बताएका छन्।

सभापति थापाले सामाजिक सञ्जालमा देखावटी सहानुभूति देखाउने प्रवृत्तिभन्दा प्रत्यक्ष रूपमा पीडितको उद्धार, राहत र पुनःस्थापनामा योगदान पुर्‍याउनु नै वास्तविक मानव सेवा भएको उल्लेख गरेका छन्।

उनले विपद् व्यवस्थापनलाई राजनीतिक कार्यक्रमका रूपमा होइन, सामाजिक दायित्व र मानवीय सेवाको अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्।