काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने निर्णय गरेको छ। बुधबार धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि प्रदेश सरकारको सत्ता गठन वा गणितीय समीकरणमा सहभागी नहुने निर्णय गरेको हो।


ADVERTISEMENT


पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस, एमाले र नेकपासहितका ठूला दलहरूले नै प्रदेश सरकार गठनको जिम्मेवारी लिनुपर्ने र राप्रपा सत्ता समीकरणको खेलमा नजाने धारणा बैठकले पारित गरेको जानकारी दिएका छन्। उनले प्रदेश सरकारको सम्बन्धमा कुनै निर्णय लिनुपर्ने अवस्था सिर्जना भए पार्टीको बृहत्तर हितलाई ध्यानमा राख्दै उपयुक्त समयमा निर्णय गर्ने जिम्मेवारी अध्यक्षलाई प्रदान गरिएको बताएका छन्।


ADVERTISEMENT

# # #


बैठकले पार्टीको आधिकारिक निर्देशनबिना सत्ता केन्द्रित कुनै पनि गतिविधिमा सहभागी नहुन सबै प्रदेशका संसदीय दल तथा प्रदेशसभा सदस्यलाई निर्देशन दिएको छ।

यस्तै, आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा हुने पार्टीको महाधिवेशनको तयारीलाई तीव्र बनाउन विभिन्न १६ वटा समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको छ।

त्यसैगरी, निरञ्जन थापाको अध्यक्षतामा गठित विधान मस्यौदा समितिमा केही सदस्य थप गर्ने निर्णय पनि गरिएको अध्यक्ष लिङ्देनले जानकारी दिएका छन्।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले मधेसलगायत विभिन्न स्थानमा भएका घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले नेपालमा समतामूलक समाज निर्माण, धार्मिक सहिष्णुताको निरन्तरता तथा राष्ट्रिय एकताको सुदृढीकरण आवश्यक रहेको उल्लेख गर्दै हिन्दु राष्ट्र पुनःस्थापनाको आफ्नो पार्टीको अडान दोर्याएका का छन्।